नेपालको सीमा नजिकै आइपुगे चिनियाँ माल बाहक रेल

काठमाडौं – व्यापारिक सामान बोकेका चिनियाँ रेलहरु नेपालको सीमा नजिकै आइपुगेका छन् । नेपाली व्यवसायीको प्रयासमा विभिन्न शहरबाट नेपालको सीमानासम्म सोझै सामान पठाउन थालिएको छ । तिब्बतको सिगात्सेसम्म रेलमा पठाइएका ती सामान किफायती, हिफाजत र छोटो समयमा नेपालको सीमानासम्म आइपुगेको बताइएको छ ।

चीनको चच्याङ प्रान्तको यिवुमा रहेका नेपाली व्यवसायीहरुले परीक्षणको रुपमा अगष्ट ८ तारिखका दिन पठाइएका ती सामान १० दिनपछि अगष्ट १८ मा रेलमा सिगात्से पुगेको थियो । त्यहाँबाट स्थलमार्ग हुँदै ल्याइएका सामान अगष्ट २१ र २२ का दिन नेपाली सीमानामा यताका व्यवसायीलाई हस्तान्तरण गरिएको जानकारी दिइएको छ ।

नेपाल चाइना चेम्बर अफ कमर्स यिवु, चच्याङका प्रतिनिधि विष्णु दुमरू र यिवुमा व्यापार गरि बस्ने सम्पूर्ण नेपालीको प्रयासस्वरूप उक्त कार्य सम्भव भएको नेपाल चेम्बर अफ कमर्स पूर्वी चाइना प्रतिनिधि राजकुमार खड्काले बताए । यसलाई निरन्तरता दिन सकिएको अवस्थामा आगामी दिनमा निकै ठूला, गह्रौं र फुट्ने सामान रेलबाट सजिलैसँग लैजान सकिने उनको भनाई छ । ‘सामान पुग्ने समय पनि दुइ तिहाइले बचत भएको छ । दुई देशबीच प्रत्यक्ष व्यापार गर्दा तेस्रो देशको भूगोल उपयोग गर्न आवश्यक नपर्ने अवस्था छ । अति आवश्यकीय वस्तु आयात गर्दा तेस्रो देशको नाजायज प्रस्ताव स्वीकार गर्न नपर्ने र विगतमा नाकाबन्दी जस्तो पीडा भोगिएको र त्यसप्रकारका घुर्की नेपालले आगामी दिनमा भोग्नुनपर्ने अवस्था सिर्जना भएको छ,’ खड्काले भने ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया