सुजुकीले सार्वजनिक गर्यो इलेक्ट्रिक कारको प्रोडक्सन भर्सन ईभी ई–भिटारा

मंगलबार, २० कार्तिक २०८१, १४ : २८

काठमाडौं– सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार विश्व बजारका लागि सार्वजनिक गरेको छ। इटालीको मिलानमा शुरु भएको मोटर शो ईआईसीएमए २०२४ मा सुजुकीले ईभीएक्स कन्सेप्ट नाम दिएको इलेक्ट्रिक कारको प्रोडक्सन भर्सन सार्वजनिक गरेको हो ।

पहिलो पटक भारतको अटो एक्सपो २०२३ मा सार्वजनिक गरिएको सो कन्सेप्टको नाम अब ई–भिटारा राखिएको छ । भारतमा आगामी जनवरीमा सम्पन्न हुने भारत मोबिलिटी शो २०२५ मा यो कार प्रदर्शन गरिने छ ।

यसको उत्पादन २०२५ को फेब्रुअरीदेखि सुजुकी मोटर गुजरातको प्लान्टमा शुरु हुनेछ । त्यसपछि मार्च महिनादेखि युरोप, जापान र भारत लगायतका देशमा बिक्रीका लागि उपलब्ध हुनेछ । नेपालमा पनि त्यसपछि आउन सक्ने सम्भावना छ ।

ई–भिटाराको लम्बाई, चौडाई र उचाई क्रमशः ४२७५, १८०० र १६३५ एमएम छ । यसको ह्विलबेस २७०० एमएम र ग्राउन्ड क्लियरेन्स १८० एमएम छ । ५ जना व्यक्ति बस्न मिल्ने सो गाडीमा ४९ र ६१ किलोवाट आवरको ब्याट्री अप्सन हुनेछ ।

परमानेन्ट सिंक्रोनस इलेक्ट्रिक मोटर रहेको सो गाडी टु ह्विल र फोर ह्विल ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । टु ह्विल ड्राइभमा ४९ किलोवाट आवरको ब्याट्रीले १४२ एचपी र ६१ किलोवाट आवरको ब्याट्रीले १७२ एचपी तथा फोर ह्विल ड्राइभमा ६१ किलोवाट आवरको ब्याट्रीले १८१ एचपी पावर दिन्छ । टु ह्विल र फोर ह्विलमा यसको टर्क क्रमशः १८९ एनएम र ३०० एनएम हुनेछ ।

मंगलबार, २० कार्तिक २०८१, १४ : २८

प्रतिक्रिया