यी ४ लघुबिमा कम्पनीले कृषि बिमा गर्न पाउने

सोमबार, ०३ मंसिर २०८१, १५ : ५३

काठमाडौँ- अबदेखि लघुबिमा कम्पनीलाई पनि कृषि बिमा व्यवसाय गर्न दिने भएको छ ।

 कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको बाली तथा पशुधन बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि २०८१ बमोजिम  लघु बिमा कम्पनीले पनि कृषि बिमा व्यवसाय गर्न पाउने भएका छन् ।

कृषि बिमा व्यवसाय गर्ने विषयमा भएको छलफलमा कम्पनीहरूलाई पूर्वाधार निर्माण गर्न आग्रह गरिएको छ । स्रोतका अनुसार कृषि बिमाका लागि कम्पनीहरूलाई सफ्टवेयर, प्राविधिक, एजेन्ट, पोलिसि अध्ययन र निर्माणलगायत अन्य व्यवस्था गर्न भनिएको छ । कम्पनीहरूले आवश्यक पूर्वाधार तयार गरेपछि बिमा गर्न पाउने छन् । 

हाल नेपालमा ७ वटा लघु बिमा कम्पनीहरू रहेका छन् । जसमध्ये ४ वटा निर्जीवन कम्पनी छन् । उक्त ४ वटा निर्जीवन बिमा कम्पनीले कृषि बिमा गर्न पाउने छन् । 

कार्तिक महिनाको पहिलो साता ४ वटा लघु निर्जीवन कम्पनी र प्राधिकरणबिच यसबारेमा छलफल भएको थियो । छलफलमा उनीहरूलाई पूर्वाधार तयार गरेर आउन सुझाव दिएको हो । 

प्राधिकरणका अनुसार लघु बिमा कम्पनीहरूले ५० लाख रुपैयाँसम्मको कृषि बिमा पोलिसि बिक्री गर्न पाउने छन् । कृषि तथा पशुपंक्षी बिमा प्रिमियम अनुदान उपलब्ध गराउने कार्यविधिअनुसार एक करोडभन्दा धेरै बीमांक रकमको बिमा गर्नेले बीमा शुल्कको ५० प्रतिशत अनुदान पाउनेछन् ।  ५० देखि १ करोड रुपैयाँसम्मको बीमांक रकम भए ६५ प्रतिशत अनुदान पाउनेछन् भने ५० लाख रुपैयाँभन्दा कम रकमको बिमा गर्दा किसानले ८० प्रतिशत अनुदान पाउनेछन् । 

सोमबार, ०३ मंसिर २०८१, १५ : ५३

प्रतिक्रिया