काठमाडौं- पछिल्लो समय नेपाली बजारमा चलेको इलेक्ट्रिक भेइकल (इभी) का सवारी साधनमा प्रयोग गरिने ब्याट्रीले भविष्यमा समस्या निम्त्याउने देखिएको छ ।
भविष्यमा ब्याट्री व्यवस्थापनको चुनौतीसँगै सोही ब्याट्रीको विद्युतीय क्षमता (भोल्टेज) परीक्षण गर्ने मेसिन समेत सरकारसँग नहुँदा आयातकर्ताले भन्सारमा त्यसको विद्युत आपूर्ति क्षमता (किलोवाट) कम देखाएर भित्र्याउने गरिएको पाइएको छ ।
भविष्यमा प्रयोगहीन ब्याट्रीको व्यवस्थापनमा चुनौतीसँगै भारतबाट यसको आयात गर्दा नेपाली व्यवसायीहरुले ब्याट्रीको भोल्टेजको मात्रा घटाएर कर छली गर्ने गरेका छन् । सरकारले ब्याट्रीको विद्युतीय मात्रा परीक्षण गर्ने उपकरण समेत नल्याएर अरबौं रुपैयाँ भन्सार राजस्व गुमाएकोे छ ।
राज्यलाई अरबौं भन्सार छली गर्दै भित्र्याइएको यिनै इभी गाडीका ब्याट्री भविष्यमा प्रयोेगहीन भए त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने फेरि अर्को चुनौती खडा भएको छ ।
विश्वका विभिन्न विकसित मुलुकहरुलाई समेत इभी गाडीका प्रयोगहीन ब्याट्रीको व्यवस्थापन प्रमुख समस्या बनिरहँदा नेपालमा पनि यसको व्यवस्थापनको चुनौतीले थप संकट निम्तिने निश्चित देखिएको हो ।
इभी गाडीमा एकपटक प्रयोग गरेर बिग्रीएको ब्याट्री पुनःप्रयोग गर्न नसकिने हुँदा यसको उचित व्यवस्थापनको समस्याले दीर्घकालमा वातावरणीय संकट निम्त्याउने यस क्षेत्रका जानकारहरु बताउँछन् ।
यसको व्यवस्थापनमा व्याप्त चुनौती र ब्याट्री आयातमा कर छली गरेका नेपाली आयातकर्ताले त्यसको ढाकछोप गर्नभन्सार चेकजाँचका क्रममा ब्याट्री व्यवस्थापनको जिम्मा आफैं लिँदै भित्र्याउँदै आइरहेको आरोप लाग्ने गरेको छ ।
इभी गाडीको व्याट्रीको आकार समेत निकै ठूलो हुने हुँदा प्रयोगमा आइसकेपछि यसको उचित व्यवस्थापन कसरी गर्ने भन्ने अन्योलताले अहिले वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने संघसंस्था,यस्ता साधन उत्पादन गर्ने कम्पनीसहित विश्व समुदायकै चिन्ताको विषय बनेको छ ।
यद्यपि नेपालमा विद्युतीय गाडी बिवाइडीका आधिकारिक बिक्रेता साइमेक्स इन्कका मार्केटिङ हेड समीर श्रेष्ठ भने इभी गाडीका व्याट्री व्यवस्थापनमा कुनै समस्या नरहेको बताउँदै ब्याट्री पुनः प्रयोग गर्न सकिने दाबी गर्छन् । उनले यसको व्यवस्थापनमा कुनै समस्या नभएको जिकिर गर्दै निश्चित अवधि पछि अन्य विद्युतीय उपकरण जसरी चार्जिङ माध्यमबाट पुनः प्रयोगमा ल्याउन सकिने बताए।
श्रेष्ठले आजको अर्थसँगको कुराकानीमा भने, ‘व्याट्री व्यवस्थापनमा कुनै समस्या छैन । रिसाइकल गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ । त्यसको हामी ग्यारेन्टी गर्छौं।’ साथै उनले ब्याट्री आयात गर्दा सम्बन्धित भन्सार कार्यालयकै उपकरण अनुरुप नापजाँच गर्ने गरिएको बताए ।
व्याट्रीमा प्रयोग हुने कतिपय रसायनहरु मानव स्वास्थ्यका लागि घातक भएकाले पनि यसको उचित व्यवस्थापन निकै चुनौतीपूर्ण देखिएको हो । यस्तै, यसमा प्रयोग हुने कतिपय पदार्थहरु समेत अत्यन्तै दुर्लभ मानिने हुँदा वातावरणीय सन्तुलन कायम गर्न पनि यसको संरक्षण अपरिहार्य रहेको वातावरणविद्हरु बताउँछन्।
यस विषयमा इभी गाडीको नियामक निकाय यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखेलसँग जिज्ञासा राख्ने प्रयास सफल हुन सकेन ।
प्रतिक्रिया