टीभीएसले नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्दै

विहीबार, ०४ पुस २०८१, १६ : ०१

काठमाडौं- होण्डा, सुजुकी र टीभीएसले नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने तयारी गरेका छन् । यी कम्पनीले सन् २०२५ जनवरीमा आयोजना हुने भारत मोबिलिटी एक्स्पोमा आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी थालेका हुन् ।

होण्डा र सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर बजार उतार्ने तयारी थालेका हुन् भने टीभीएसको तेस्रो उत्पादन हुनेछ ।

२०२५ को जनवरी हुने भारत मोबिलिटी एक्स्पोमा होण्डाले आफ्नो चर्चित स्कुटर एक्टीभाको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्दैछ । सुजुकीले वर्गम्यान इलेक्ट्रीक र टीभीएसले जुपिटर इलेक्ट्रीक सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

होण्डा इन्डियाले हालै भारतमा होण्डा एक्टीभा ई र क्यूसी १ इलेक्ट्रीक स्कुटर प्रदर्शन गरेको थियो भने यी स्कुटर जनवरी १७ मा सार्वजनिक गर्ने भएको हो । होण्डा एक्टिभामा स्वाप गर्न मिल्ने ब्याट्री प्याक उपलब्ध हुनेछ भने क्यूसी १ मा फिक्स ब्याट्री दिइएको छ । यसमा हुने अन्य फिचरमा फुल डिजिटल टचस्क्रीन डिस्प्ले, किलेस स्टार्ट, कनेक्टेड फिचर, राइड मोड छन् । यो स्कुटर मूल्य १ लाख भारु हाराहरी हुने अनुमान छ ।

त्यस्तै, विभिन्न समयमा भारतीय सडकमा परीक्षणको क्रममा देखिएको सुजुकी वर्गम्यान इलेक्ट्रीक स्कुटर भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक हुने भएको छ । २०२४ को अन्त्यबाट उत्पादन सुरू हुने भनिएको यो स्कुटर जनवरी २०२५ मा सार्वजनिक हुनेछ ।

परीक्षणको क्रममा देखिएको वर्गम्यान इलेक्ट्रीक पेट्रोल भर्सनसँग मिल्दो डिजाइनमा रहेको छ । वर्गम्यान इलेक्ट्रीकमा ब्लुटूथ कनेक्टीभिटी सहितको फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर उपलब्ध हुनेछ । यो स्कुटरमा फिक्स्ड ब्याट्री प्याक ९झिक्न नमिल्ने० उपलब्ध हुने बताइएको छ ।

त्यसैगरी, आइक्यूब र एक्स इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको टीभीएसले नयाँ स्कुटर बजारमा ल्याउने चर्चा भइरहेको छ । कम्पनीले लामो समयदेखि नयाँ स्कुटर सार्वजनिक गर्ने तयारी गरिरहेको रिपोर्टहरू बाहिर आइरहेको छ ।

यसैक्रममा कम्पनीले मोबिलिटी एक्स्पोमा जुपिटर इलेक्ट्रीक सार्वजनिक गर्ने अनुमान गरिएको छ । केही समय अघि कम्पनीले आगामी ६ महिना भित्रमा नयाँ स्कुटर सार्वजनिक गर्ने बताएको थियो ।

विहीबार, ०४ पुस २०८१, १६ : ०१

प्रतिक्रिया