हेटौंडा उपमहानगरको बजेट २० करोडले बढ्यो

शनिबार, ०६ पुस २०८१, १५ : २४

काठमाडौं - हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१\८२ का लागि करिब २० करोड बजेट वृद्धि गरेको छ । 

हेटौँडा उपमहानगरपालिकाको नगर सभाको १६औँ अधिवेशनको बैठकले चालु आव २०८१\८२ का लागि विनियोजित बजेटमा रु १९ करोड ९७ लाख वृद्धि गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाको गत असार १० गतेको नगर सभाले चालु आव २०८१\८२ का लागि रु दुई अर्ब ५२ करोड बजेट विनियोजन गरेको थियो । 

चालु आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तथा नगर क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार ल्याउन बजेट संशोधन गरी बजेटमा वृद्धि गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए  । 

विभिन्न विषयगत समितिबाट पेस भएअनुसार कर्मचारी तथा जनप्रतिनिधिको तलब भत्ता, सबारी इन्धन तथा मर्मत, कायौलय सञ्चालन तथा प्रशासनिक खर्च, ईसिडि शिक्षक र विद्यालय कर्मचारी प्रोत्साहन, बालमैत्री स्थानीय शासन अभियान, वह वर्षीय योजनाको भुक्तानीलगायत लागि चालु वर्षमा वृद्धि गरिएको प्रवक्ता न्यौपानेले बताए । 

नदीजन्य पदार्थको उत्खन्न तथा बिक्री वितरण, आन्तरिक राजस्व स्रोत तथा सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा सो बजेट रकम व्यवस्थापन गरिने उनको भनाइ छ । हेटौँडा उपमहानगरपालिकाले चालु आव २०८१र\८२ को पाँच महिनाको अवधिमा विभिन्न शीर्षकबाट रु २० करोड ६२ लाख १७ हजार राजस्व सकंलन गरेको जनाएको छ ।

यस्तै सो अवधिमा चालु आव २०८१\८२ को कूल बजेट मध्ये २१ दशमलव १२ प्रतिशत खर्च भएको उपमहानगरपालिकाले जनाएको छ । 

शनिबार, ०६ पुस २०८१, १५ : २४

प्रतिक्रिया