सिजी मोटर्सको नयाँ विद्युतीय कार एक्सपेङ जी सिक्स सार्वजनिक

आइतबार, १४ पुस २०८१, ११ : १२

काठमाडौं- चितवनमा नयाँ विद्युतीय कार एक्सपेङ जी सिक्स भित्रिएको छ।

चौधरी ग्रुपको सिजी कर्पअन्तर्गतको सिजी मोटर्स र सिजी मोटर्सको आधिकारिक बिक्रेता युरो मोटर्सले चितवनमा उक्त कार सार्वजनिक गरेको हो। अत्याधुनिक प्रविधि समेटिएको यो कारलाई फूल चार्जपछि ४३५ किलोमिटरसम्म चलाउन सकिन्छ।

सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले एक्सपेङ जी सिक्सले इभीको दुनियाँमा तहल्का मच्चाउने दाबी गरे।  नेपालमा आयात हुने विद्युतीय गाडीमध्ये २५ प्रतिशत सिजी मोटर्सले आयात गर्ने गरेको उनले बताए। ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर सिजी मोटर्सले नेपालको अटो बजारमा आफ्नो पकड बनाइराखेको अग्रवालले बताए।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले अटो बजारमा नयाँ उत्पादन थपिँदा अर्थतन्त्रलाई चलायमान हुन सहयोग पुग्ने बताए।

चिनियाँ स्टार्टअप कम्पनीले उत्पादन गरेको जी–सिक्समा रियर ह्वील ड्राइभ मोटर उपलब्ध छ। यसमा दिइएको २१८ किलोवाट क्षमताको मोटरले उत्कृष्ट पर्फर्मेन्स दिन्छ। एक्सपेङ जीसिक्समा ६६ किलोवाट अवारको लिथियम आयोन ब्याट्री छ।

यसमा रहेको एक्सएनजीपी इन्टेलीजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ वटा फरक सेन्सर, लाइडार, मिलिमिटर वेभ रडार, अल्ट्रासोनीक सेन्सर, क्यामरा, ड्युल ओरिन एक्स माइक्रोचीपको प्रयोग गरिएको युरो मोटर्सका सन्तोष भट्टराईले बताए।

आइतबार, १४ पुस २०८१, ११ : १२

प्रतिक्रिया