राष्ट्र बैंकका गभर्नरको कार्यकाल सकिँदै, आकांक्षीहरूको दौडधुप सुरु

को बन्ला १८ औँ गभर्नर ?

आइतबार, २८ पुस २०८१, १३ : ५३

काठमाडौं - नेपालको केन्द्रीय बैंक हो, नेपाल राष्ट्र बैंक । नेपालमा नोट निष्काशन गर्ने, मौद्रिक नीतिलाई मार्ग निर्देश गर्ने, बैंक तथा वित्तीय संस्थाहरुको काम कारबाहीको नियमन गर्दै आवश्यकता अनुसार नियन्त्रण गर्ने अधिकार नेपाल राष्ट्र बैंकलाई छ । राष्ट्र बैंक आफैमा एक सर्वोच्च निकाय हो । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन ३ महिना बाँकी रहँदा नयाँ गभर्नर बन्ने आकांक्षीले दौडधुप सुरु गरेका छन् । राष्ट्र बैंकको प्रमुख पद अर्थात् गभर्नरको कार्यकाल तीन महिना बाँकी हुँदा आकांक्षीको चर्चा हुनु स्वाभाविक नै हो। 

राष्ट्र बैंकका गभर्नरको कार्यकाल पाँचवर्षको हुने गर्दछ । राष्ट्र बैंकका १७ औँ गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल चैतमा सकिँदै छ । महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नरका २०७६ चैत २४ गते नियुक्त भएका थिए ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनु पर्ने, उच्च नैतिक चरित्र भएको हुनु पर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

सरकारले गठन गरेको समितिले ३ जनाको नाम सिफारिस गरेसँगै सिफारिस गरिएका मध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गर्न सक्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ । 

गभर्नर पदमा नियुक्त गर्न तीन जनाको नाम सिफारिस हुने व्यवस्था रहेपनि आकांक्षीको लाइन भने लामै हुने गर्दछ । सोही अनुसार गभर्नर अधिकारीको कार्यकाल सकिनै लाग्दा आगामी गभर्नरको सपना देखेर नेता देखि मन्त्रीसम्म धाउनेको संख्या दैनिक रूपमा बाक्लिँदै गएको छ । केन्द्रीय बैंकको कसको नेतृत्व रहला भनेर चासो जाग्नु स्वाभाविक विषय पनि हो । 

अधिकारीको कार्यकाल सकिनै लाग्दा काविल अर्थशास्त्रमा रूचि राख्नेहरू भने यसपटक गभर्नर बन्ने र देशको आर्थिक सुधारलाई चुस्त बनाउने खाकाको तयारीमा जुट्न थालेका छन् ।  यति बेला गभर्नरमा आकंक्षा राख्नेहरूले योजनासहित नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् । 

यस क्रममा यसपटक गभर्नर पदका लागि विभिन्न प्रमुख नामहरू चर्चा भइरहेको छ। डेपुटी गभर्नर बमबहादुर मिश्र र नीलम ढुंगाना तिमल्सिना पनि यस दौडमा सामेल रहेको चर्चा छ । राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई पनि यस पटक प्रतिस्पर्धीको बलियो दाबेदारका रूपमा रहेका छन् । 

पूर्वअर्थसचिव रामेश्वर खनाल हाल उच्चस्तरीय आर्थिक सुधार आयोगको संयोजक छन् ।  प्रतिस्पर्धीको चर्चामा रहेका अर्का पात्र हुन्, सुशील भट्ट । उनी लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा व्यवस्थापन संघका पूर्वअध्यक्ष पनि हुन् ।

त्यस्तै, नेपाल राष्ट्र बैंककै पूर्वकार्यकारीद्वय निर्देशक राजनसिंह भण्डारी, लालशंकर घिमिरे, पूर्वराजस्व सचिव रवीन्द्र पाण्डे, राष्ट्र बैंकका दुई कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र डा. गुणाकर भट्ट गभर्नरको लाईनमा रहेको बुझिएको छ । यद्यपि, उनीहरू आफैंले भने यसबारे मुख खोलेका छैनन् ।

राष्ट्र बैंकको नेतृत्वमा आउने व्यक्तिले देशको मौद्रिक नीति र वित्तीय क्षेत्रको समृद्धिका लागि महत्वपूर्ण निर्णयहरू लिने भएकाले यसको चयनमा व्यापक चासो देखिएको छ। 
 

आइतबार, २८ पुस २०८१, १३ : ५३

प्रतिक्रिया