पाँच महिनामा विकास बैंकहरुको नाफा २ अर्ब ७८ करोड, कसको कति ?

बुधबार, ०२ माघ २०८१, १२ : ४६

काठमाडौं - चालु आर्थिक वर्षको पाँच महिनामा नेपालका विकास बैंकहरूले २ अर्ब ७८ करोड ८४ लाख ६० हजार रुपैयाँ नाफा कमाएका छन् । 

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार यो नाफा गत आवको सोही अवधिको तुलनामा २८.९५ प्रतिशत बढी हो। गत आवको मंसिर मसान्तसम्ममा विकास बैंकहरूले २ अर्ब १६ करोड २३ लाख ६० हजार रुपैयाँ नाफा कमाएका थिए।

यस अवधिमा नाफामा सबैभन्दा अगाडि मुक्तिनाथ विकास बैंक रहेको छ। मुक्तिनाथले ५८ करोड ८८ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा २८.२० प्रतिशतले वृद्धि भएको हो। यससँगै मुक्तिनाथले नाफामा अग्रणी स्थानमा आफ्नो वर्चश्व कायम राखेको छ।

नाफामा दोस्रो स्थानमा रहेका बैंक भने गरिमा विकास बैंक रहेको छ। गरिमाले ३३।२४ प्रतिशत नाफा वृद्धि गर्दै ५१ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ। कामना सेवा विकास बैंकले पनि उल्लेखनीय प्रदर्शन गरेको छ, जसको नाफा ६८.२६ प्रतिशत वृद्धि भई ३३ करोड १० लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, लुम्बिनी विकास बैंकको नाफा ५८.३० प्रतिशतले वृद्धि भएर ३८ करोड ६८ लाख रुपैयाँ पुगेको छ भने शाइन रेसुङ्गा बैंकले ५७.३७ प्रतिशत नाफा वृद्धि गर्दै ४७ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ। सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३३.०५ प्रतिशत वृद्धि भई २० करोड ७० लाख रुपैयाँ पुगेको छ।

तर, केही बैंकहरूले नाफामा गिरावट देखाएका छन्। महालक्ष्मी विकास बैंकको नाफा १.९३ प्रतिशतले घटेर २१ करोड २९ लाख रुपैयाँ पुगेको छ, जबकि ज्योति विकास बैंकको नाफा ६४.७८ प्रतिशतले घटेर ७ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ। 

गत आवको सोही अवधिमा ज्योति बैंकले १९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो।

 
 
 
 
बुधबार, ०२ माघ २०८१, १२ : ४६

प्रतिक्रिया