काठमाडौं - अहिले मानिसहरु आर्थिक मन्दीको मारमा परेर बेहाल छन् । लगानी गर्न चाहनेले पनि पैंसाको अभावमा केही गर्न सकिरहेको अवस्था छैन । तर राष्ट्र बैंकले बैंकहरुमा तरलता बढेको कारण बजारबाट पैंसा खिचिरहेको छ । तरलता बढ्नु भनेको बैकमा लगानीयोग्य रकम थुप्रिनु हो । अहिले बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेप रकम झण्डै ६७ खर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा हाल कायम रहेको कुल कर्जा रकम भने पछिल्लो अवधिमा ५३ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । उक्त कर्जामध्येमा वाणिज्य बैंकहरूको कुल कर्जा रकम ४७ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल कर्जा रकम छ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । बैंकिङ क्षेत्रमा हाल कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सिडी रेसियो) भने ७९ दशमलव २० प्रतिशत रहेको छ । सोअनुसार बैंकिङ क्षेत्र अहिले पनि छ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छ । क्षमता भएर पनि बजारमा अहिले कर्जाको माग नहुँदा वित्तीय क्षेत्रमा पछिल्लो समय अधिक तरलता बढ्दै गएको हो । सोही अधिक तरलतालाई नियन्त्रणमा राख्नको राष्ट्र बैंकले अल्पकालीन अवधिको निक्षेप उपकरण जारी गरेर अधिक तरलता खिच्दै आएको छ ।

यसरी बजारमा पैंसाको अभाव भैरहने र बैंकमा भने थुप्रिरहने अवस्था रहेसम्म कसरी आर्थिक गतिविधीहरु चलायमान होलान् ? सोचनीय विषय बनेको छ । सरकारले आर्थिक समृद्धी र विकासको नारा दिने तर व्यवहारमा अर्थतन्त्र संकुचित बन्ने स्थितिको कहिले अन्त्य हुने हो ? यसबारेमा सरकारले समग्र आर्थिक नीतिहरुलाई पुनरावलोकन गर्न जरुरी छ । पैंसा बजारमा नगएसम्म जस्तोसुकै नीति ल्याए पनि आर्थिक क्षेत्रले राहत महशुस गर्न सक्तैन । साथै सरकारले मुलुकमा लगानीयोग्य वातावरण बनाउन कुनै कसर बाँकी राख्नु हुँदैन । तर व्यवहारमा अहिलेसम्म पनि त्यस्तो अवस्था देखिएको छैन । यो साता मात्र राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता खिचिसकेको छ भने परिपक्व भएको निक्षेप उपकरणलाई पुनः वित्तीय प्रणालीमा पठाउँदै आएको छ ।
प्रतिक्रिया