चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थ आयातबाट ३६ अर्बभन्दा बढी राजस्व संकलन

विहीबार, १० माघ २०८१, ११ : ०९

काठमाडाैं- चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज भन्सार नाकाबाट रु ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ, जसबाट रु ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

डिजेलतर्फ यो अवधिमा रु ४२ अर्ब २४ करोड बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर आयात भएको छ, जसबाट रु १८ अर्ब ९८ करोड राजस्व संकलन भएको छ। पेट्रोलतर्फ दुई लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको छ, जसबाट रु १२ अर्ब ४७ करोड राजस्व दाखिला भएको छ। एभिएशन टर्बाइन फ्युल (एटिएफ) तर्फ रु आठ अर्ब नौ करोड बराबरको ८९ हजार तीन सय ८० किलोलिटर आयातबाट रु एक अर्ब एक करोड राजस्व संकलन भएको छ।

यस्तै, रु ३६ करोड २० लाख बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयात गरिएको छ, जसबाट रु १० करोड राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा रु ३२ अर्ब ९५ करोड ४१ लाख ४६ हजार राजस्व संकलन भएकोमा यस वर्षको सोही अवधिमा ३६ अर्ब नाघेको छ।

पेट्रोलियम पदार्थको बढ्दो आयात र यसबाट संकलित राजस्वले नेपालको इन्धन खपतको उच्चस्तर र यसको व्यवस्थापनको महत्वलाई स्पष्ट गरेको छ।

विहीबार, १० माघ २०८१, ११ : ०९

प्रतिक्रिया