महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २” को पुरस्कार वितरण

विहीबार, १० माघ २०८१, १७ : ०५

काठमाडौं - महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गरेको “महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २” को पुरस्कार आज माघ १० गते वितरण गरिएको छ । 

काठमाडौं दरबारमार्गमा आयोजित एक कार्यक्रमका बीच प्रथम, द्वितीय, तृतीय स्थान तथा पब्लिक च्वाईस अवार्ड हासिल गर्ने फाटोग्राफरहरुलाई पुरस्कार वितरण गरिएको हो । उक्त प्रतियोगितामा सुवास श्रेष्ठ प्रथम, शौरभ बज्राचार्य दोस्रो र पारस राज बर्जाचार्य तेस्रो हुन सफल भएका छन् । विजेताले प्रमाणपत्रका साथमा क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरे ।

पब्लिक च्वाईसमा सबैभन्दा बढी भोट प्राप्त गरी घनश्याम श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएका छन् । उनले प्रमाणपत्रको साथै ५ हजार रुपैयाँ प्राप्त गरे । यसका साथै पुरस्कार वितरण कार्यक्रममा बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरू खिचेर पठाउनुपर्ने नियम अनुसार विभिन्न फोटोग्राफरहरू मार्फत विभिन्न फोटोहरू प्राप्त भएका थिए । प्रतियोगितामा समावेश सम्पूर्ण फोटोहरू उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायहरू मार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए । प्रतियोगिताको मूल्याकंनको लागि छानिएको ३ सदस्यीय निर्णायक समिति मार्फत १५ वटा उत्कृष्ट तस्बिरहरू छानिएको थियो ।

यस्ता कार्यहरूबाट स्थानीय व्यवसाय, उद्यमशीलता, स्थानीय कलाको प्रवर्द्धन तथा प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

 
 

 
विहीबार, १० माघ २०८१, १७ : ०५

प्रतिक्रिया