राष्ट्र बैंकको नियमनमा रहेका कुनै पनि संस्थालाई समस्यामा पर्न दिँदैनौँ : गभर्नर अधिकारी

विहीबार, १० माघ २०८१, १७ : १४

काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियमनमा रहेका कुनै पनि संस्थालाई समस्यामा पर्न नदिने बताएका छन् ।

बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ६० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी सम्पूर्ण तथ्यांक राष्ट्र बैंकसँग हुने गरेको भन्दै त्यसलाई व्यवस्थापन गर्ने जिम्मेवारी पनि राष्ट्र बैंकको भएको बताए ।

‘राष्ट्र बैंकले रेगुलेट गरेको कुनै पनि संस्थालाई हामी समस्यामा पर्न दिँदैनौँ । यो हाम्रो एक खालको प्रत्याभूति नै हो । त्यसै हिसाबले नै हाम्रो रिसोर्सेसहरु परिचालन भएको छ । निरीक्षण गर्छौं, सुपरिवेक्षण गर्छौं, नियमन गर्छौं,’ उनले भने । गभर्नर अधिकारीले बाहिरका हल्लाका पछाडि नलाग्न समेत आग्रह गरे । ‘बैंक वित्तीय संस्थाहरूमा उतारचढाव आउँछन् । नआउने हैन । त्यसलाई हामीले स्वाभाविक रूपमा लिनुपर्छ । तर, अप्ठ्यारो परेको बेला कसरी म्यानेज गरिन्छ, त्यो कुरा महत्त्वपूर्ण हो । यो मामिलामा नेपाल राष्ट्र बैंक एकदमै सचेत छ । हामीले प्रत्येक वित्तीय संस्थाहरूलाई नजिकबाट हेरिरहेका छौं,’ उनले भने । 

कोही कसैको स्टाटस अलिकति तलमाथि हुनु त्यो स्वाभाविक रहेको उनको भनाइ छ । अहिले बैंकहरुको निष्क्रिय कर्जा अनुपात (एनपीएल) अरू मुलुकहरूको तुलनामा त्यति धेरै नराम्रो नभएको समेत उनको भनाइ छ । 

उनले संस्थागत सुशासनको इस्यु भएका बैंकलाई कारबाही गर्ने र अन्य कारणले समस्यामा परेका कार्यलाई रिजोलुसनका उपाय गर्ने भन्दै समग्र निक्षेपकर्तालाई निश्चिन्त रहन आग्रह समेत गरे । 

 

 
विहीबार, १० माघ २०८१, १७ : १४

प्रतिक्रिया