सिद्धार्थ बैंकको नाफा खस्कियो, व्यवस्थापन क्षमता पनि कमजोर

मंगलबार, १५ माघ २०८१, ११ : २२

काठमाडौं- सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आफैंलाई आर्थिक जालझेलमा पार्दै नाफा, सूचक र सुशासनका मैदानमा गोल खान थालेको छ। बैंकले सार्वजनिक गरेको पुससम्मको वित्तीय विवरण हेर्दा, नाफा मात्र होइन, बैंकको व्यवस्थापन क्षमता पनि सन्देहको घेरामा परेको छ।

सिद्धार्थ बैंकको नाफा पुससम्म आइपुग्दा ५३.३६ प्रतिशतले घटेर ५३ करोड २ लाख २९ हजारमा खुम्चिएको छ। एक वर्षअघि १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ नाफा गर्न सफल यो बैंक अब आफ्नो "ग्लोरी" खोज्दै गल्लीमा भौंतारिएको देखिन्छ।

बैंकको निष्क्रिय कर्जा ४.५ प्रतिशतमा पुगेको छ, जुन गत वर्षको २.५६ प्रतिशतको तुलनामा १.९४ प्रतिशतले उकालो लागेको छ। कर्जा उठाउन नसक्दा बैंकले निष्क्रिय कर्जामा डुबुल्की मारिरहेको छ। प्रोभिजनिङ रकम पनि १ अर्ब १८ करोडबाट २ अर्ब २६ करोड नाघेको छ। यस्तो देख्दा बैंकले भविष्यका लागि "प्लान बी" तयार नगरी खेलको मैदानमै आफैंलाई हारेको घोषित गरिसकेको हो कि भन्ने शङ्का उब्जिएको छ।

बैंकको प्रतिशेयर आम्दानी ८.६५ रुपैयाँबाट घटेर ७.५३ रुपैयाँमा सीमित भएको छ। मूल्य–आम्दानी अनुपात ३९.२१ गुणा रहेपनि, वितरणयोग्य मुनाफा ऋणात्मक ३६ करोड १९ लाखमा झरेको छ। बैंकले यस्तो ‘ऋणात्मक प्रदर्शन’लाई अब के नाम दिने?

सुधारिएको वित्तीय सूचकमा मात्रै होइन, सिद्धार्थ बैंक सुशासनमा पनि फेल भएको देखिन्छ। हालैको जनकपुर शाखा विवाद त्यसको प्रत्यक्ष उदाहरण हो। ऋणी दिनेशराय कुर्मीले आफ्नो कर्जा नियमित राख्न खोज्दा बैंकले उनको सम्पत्ति लिलामीमा राखिदिएको प्रसङ्गले बैंकको कार्यप्रणालीलाई थप गम्भीर प्रश्न उठाएको छ।

कुर्मीको जग्गा लिलामीको सूचना सार्वजनिक भएपछि स्थानीय उद्योग वाणिज्य संघको साथमा प्रदर्शन हुँदै, शाखा प्रबन्धकलाई सुरक्षाकर्मीको सहारामा 'सेफ जोन' भित्र लैजानुपर्ने अवस्था आयो। विवादले उग्ररूप लिएपछि बैंकले घटनालाई ‘साम्य’ बनाएको बताइए पनि, यस्तो "साम्यीकरण" कत्तिको दिगो हो, त्यो भने भविष्यले नै बताउनेछ।

१४ अर्ब चुक्ता पुँजी र २ खर्ब ४३ अर्ब निक्षेप संकलन गरेपनि सिद्धार्थ बैंक अहिले आर्थिक तथा व्यवस्थापकीय अराजकताको बिछ्यौनामा पल्टिएको छ। अब, सीईओ सुन्दरप्रसाद कँडेल र अध्यक्ष राहुल अग्रवालले यो 'अस्तव्यस्तता' लाई व्यवस्थापन गर्दै बैंकलाई सही ट्र्याकमा ल्याउने प्रयास गर्नेछन्, वा थप आलोचना सँगाल्नेछन्, त्यो हेर्न बाँकी छ।

'सिद्धार्थ' नाम त बुद्धसँग जोडिन्छ, तर यो बैंकको प्रदर्शन बुद्धत्वभन्दा टाढा देखिन्छ। "सुशासन र स्थिरता" को लेनदेनमा सिद्धार्थ बैंकको यो 'रनिङ अकाउण्ट' कहिलेसम्म ऋणात्मक रहला?

मंगलबार, १५ माघ २०८१, ११ : २२

प्रतिक्रिया