६ महिनामा २५ अर्ब ७७ करोड विदेशी लगानी प्रतिबद्धता

मंगलबार, १५ माघ २०८१, १२ : २५

काठमाडौं - चालु आर्थिक वर्ष २०८१\८२ को ६ महिनामा नेपालले २५ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागका अनुसार, २०८१ पुस मसान्तसम्म २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

विभागका अनुसार पुस मसान्तसम्म ‘अटोमेटिक रुट’ र ‘अप्रुभल रुट’ बाट गरी कुल २५ अर्ब ७७ करोड ६४ लाख बराबर लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा कुल ३ सय ५४ उद्योग दर्ता भएका छन् ।

दर्ता उद्योगमध्ये अटोमेटिक रुटबाट मात्र १ सय ५४  दर्ता भएको देखिएको छ । यो रुटबाट २ अर्ब ३८ करोड रुपैयाँ र अप्रुभल रुटबाट २३ अर्ब ३९ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

यससँगै नेपालमा हालसम्म नेपालमा कुल वैदेशिक लगानीका लागि प्रस्तावित रकम ५ खर्ब ३७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।  स्वीकृत लगानीका लागि ६ हजार ७ सय ५३ उद्योग दर्ता भएको विभागले जनाएको छ । जसमध्ये साना उद्योग सङ्ख्या ३ सय ४५ छ । मझौला उद्योग सङ्ख्या ५ र ठुला उद्योग ४ रहेको विभागको तथ्याङ्क छ ।

यसरी आएको लगानी प्रतिबद्धतामध्ये पनि पर्यटनमा ठुलो हिस्सा छ । पर्यटनमा कुल १ सय ५७ उद्योग दर्ता भएका छन् । यो कुल सङ्ख्याको ४४ प्रतिशत भएको विभागले जनाएको छ । यसै गरी सूचना प्रविधिमा १ सय १९, सेवा क्षेत्र ४५, उत्पादन २५ र कृषि क्षेत्रमा ६ उद्योग पूर्वाधारमा २ उद्योग दर्ता भएको छ । ऊर्जा र खनिजमा कुनै लगानी आएको देखिँदैन । 
 

मंगलबार, १५ माघ २०८१, १२ : २५

प्रतिक्रिया