राष्ट्र बैंकको सम्पत्ति २३ खर्ब नाघ्यो, विदेशी लगानीमा उल्लेखनीय वृद्धि

बुधबार, १६ माघ २०८१, १६ : १४

काठमाडौं- नेपाल राष्ट्र बैंकको सम्पत्ति चालु आर्थिक वर्षको पहिलो छ महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। पछिल्लो अर्धवार्षिक अवधिमा राष्ट्र बैंकको कुल सम्पत्ति २ खर्ब ३७ अर्ब ९१ करोड रुपैयाँले बढ्दै २३ खर्ब ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा राष्ट्र बैंकको कुल सम्पत्ति २० खर्ब ६७ अर्ब २ करोड रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकले यो अवधिमा विदेशी ऋणपत्र, विदेशी बैंकमा राखिएको निक्षेप तथा सुनको प्रमाणपत्रमा लगानी विस्तार गरेको छ। गत असार मसान्तसम्म ११ खर्ब २७ अर्ब ७४ करोड रुपैयाँ रहेको विदेशी ऋणपत्रको लगानी पुस मसान्तसम्म आइपुग्दा १२ खर्ब ५३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, विदेशी बैंकमा राखिएको आवधिक निक्षेप ५ खर्ब ९८ अर्ब ५१ करोड रुपैयाँबाट बढेर ६ खर्ब ९१ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। सुनको प्रमाणपत्रमा गरिएको लगानी ८३ अर्ब ३२ करोड रुपैयाँबाट बढेर ९५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकको कुल सम्पत्तिमध्ये विदेशी मुद्राको हिस्सा बलियो देखिएको छ। बैंकसँग अहिले २२ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सम्पत्ति रहेको छ भने स्वदेशी मुद्रा सम्पत्ति १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

नेपाल सरकारद्वारा जारी गरिएको ऋणपत्रमा राष्ट्र बैंकले २३ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको छ। राष्ट्र बैंकको सञ्चित नाफा तथा जगेडा कोष गत असारको तुलनामा ८ अर्ब ३५ करोड रुपैयाँले वृद्धि भई हाल ६२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा चलनचल्तीमा रहेको नगदमा पनि वृद्धि भएको देखिन्छ। गत असार मसान्तमा ६ खर्ब ८० अर्ब रुपैयाँ रहेको चलनचल्तीको पैसा पुस मसान्तसम्म ७ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। चाडपर्वको समयमा बैंकिङ प्रणालीबाट बाहिरिएको नगद पुनः प्रणालीमा समेटिँदा यसमा वृद्धि भएको राष्ट्र बैंकको विश्लेषण छ।

राष्ट्र बैंकले वित्तीय सुदृढीकरणका लागि लगानी रणनीति विस्तार गर्दै आएकाले समग्र आर्थिक व्यवस्थापन बलियो बन्दै गएको देखिन्छ। बैंकको सम्पत्ति वृद्धिले नेपालको वित्तीय स्थायित्वमा थप योगदान पुर्‍याउने विश्वास गरिएको छ।

बुधबार, १६ माघ २०८१, १६ : १४

प्रतिक्रिया