काठमाडाैं- म्याग्दी जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अन्तर्गत रणवाङ–दरबाङ सडकमा कालोपत्र सुरु भएको छ। बिहीबारदेखि खहरेखोलाबाट दरबाङतर्फ कालोपत्र बिच्छ्याउने कार्य अघि बढाइएको हो। पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार पहिलो चरणमा खहरेखोला, रणवाङ, सहश्रधारा, दुखुखोला, रातोढुङ्गा हुँदै तोलावाङसम्म चार किलोमिटर कालोपत्र गर्न लागिएको छ।
सडक स्तरोन्नतिको क्रममा फराकिलो पार्ने, नाली तथा टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सम्पन्न भएका स्थानमा एकतर्फी प्राइम कोट (बिटुमिन) बिछ्याएर फस्टकोट (बिटुमिन र चिप्स) राख्ने काम भइरहेको छ। बाङ्गेपहिरो क्षेत्रलाई हाललाई छाडेर तोलावाङ, ढाडखर्क र दरबाङ बजार क्षेत्रमा निर्माणकार्य सम्पन्न भएपछि कालोपत्रको योजना अघि बढाइने छ।
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम अन्तर्गत निर्माणाधीन यो सडक आयोजनाको ठेक्का सम्झौता पाँच वर्षअघि भए पनि विभिन्न कारणले निर्माण कार्य प्रभावित भएको थियो। मङ्गला गाउँपालिका–२ रणवाङदेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते बिरूवा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालयबीच रू २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो। निर्धारित समयभित्र सम्पन्न हुन नसकेको यो योजना हालसम्म ८० प्रतिशत मात्र सम्पन्न भएको छ।
निर्माण कम्पनीका प्राविधिक देवराज राउतका अनुसार चालु आर्थिक वर्षभित्रै कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित उपकरण तथा श्रमिक परिचालन गरिएका छन्। कम्पनीका सञ्चालक चन्द्र थकालीले पर्याप्त बजेटको अभाव, नदीजन्य निर्माण सामग्रीको सीमितता, प्राकृतिक विपद् तथा कोरोना महामारीका कारण काम ढिला भएको बताए। गत वर्ष रू पाँच करोड बजेट विनियोजन भएको आयोजनाका लागि यसपालि रू एक करोड ५० लाख मात्र विनियोजन गरिएको छ, जसले कार्यान्वयनमा थप चुनौती थपिएको छ।
म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक निर्माणमा भएको ढिलाइले यातायात सञ्चालन असहज मात्र नभई दुर्घटनाको जोखिम पनि बढाएको थियो। जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको निरन्तर दबाबपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन्। मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले गुणस्तरीय निर्माणका लागि कडा निगरानी गरिएको बताए। स्थानीय सामाजिक समस्या समाधान तथा सहजीकरणका लागि समन्वयात्मक प्रयास जारी रहेको उनले जनाए।
यो सडक मार्ग म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने प्रमुख मार्ग मात्र नभई बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाका लागि पनि मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको उत्कृष्ट विकल्प मानिन्छ। बेनीदेखि सिमसम्म १२.५ किलोमिटर सडक तीन वर्षअघि कालोपत्र गरिएको थियो भने सिम–पानाबगर खण्डको चार किलोमिटर सडकको काम गत जेठमा सम्पन्न भएको थियो।
दरबाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको स्तरोन्नति तथा कालोपत्र गर्ने अर्को योजना समेत अघि बढाइएको छ। यसका लागि रू एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रियामा रहेको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले जानकारी दिए। उनले धारापानी–ताकम–शिवाङ खण्डको चार किलोमिटर कालोपत्र तथा ग्राभेल कार्य तीव्ररूपमा अघि बढिरहेको बताए।
सङ्घीय तथा प्रदेश सरकारको साझेदारीमा दरबाङ–धारापानी खण्डको सात किलोमिटर तथा शिवाङ–मुना खण्डको सडक कालोपत्र गर्न एक अर्ब बजेटको योजना अघि बढाइएको छ। प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका जुग्जालीले थप बजेटको माग गर्दै मुख्यमन्त्री तथा विभागीय मन्त्रीसँग समन्वय गरी रकमान्तरका लागि पहल गरिएको बताए।
प्रतिक्रिया