काठमाडौं- इजरायलले इरानसँगको १२ दिन लामो युद्धबाट लगभग १० अर्ब सेकेल (३ अर्ब अमेरिकी डलर) बराबरको प्रत्यक्ष क्षति भएको अनुमान गरेको छ ।
इजरायली वित्त मन्त्रालय र कर प्राधिकरणले यसै हप्ता सार्वजनिक गरेको रिपोर्टलाई उल्लेख गर्दै ब्लुमबर्गले लेखेको छ । यो अनुमान इरानी क्षेप्यास्त्र आक्रमणहरुले इजरायलको घना बस्ती भएका क्षेत्र र पूर्वाधारमा पुर्याएको क्षतिको परिमाण हो ।
उक्त रकममा सम्पत्ति क्षति र युद्धका कारण बन्द गर्नुपरेका व्यवसायलाई दिइने क्षतिपूर्तिहरु पनि समावेश छन् । तर यसमा युद्धका क्रममा प्रयोग भएका हतियार तथा रक्षा प्रणालीहरु प्रतिस्थापन गर्न लाग्ने खर्च भने समावेश गरिएको छैन । जसले समग्र लागतलाई अझ धेरै बढाउने अनुमान गरिएको छ ।
यति ठूलो क्षति पहिले कहिल्यै नभएको र यो इजरायलको इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो चुनौती भएको इजरायलको कर प्राधिकरणका महानिर्देशक साय अहरोनोभिचले बताएका छन् । वित्त मन्त्री बेजालेल स्मोट्रिचले भने युद्धको कुल लागत अन्ततः १२ अर्ब डलरसम्म पुग्न सक्ने बताएका छन् ।
यस्तै, इजरायल बैंकका गभर्नर अमिर यारोनले भने ब्लूमबर्ग टिभीसँगको अन्तर्वार्तामा त्यसको झण्डै आधा अर्थात् करिब ६ अर्ब डलर हुने अनुमान गरेका छन् । दुई देशबीचको १२ दिन लामो भिडन्त जुन १३ मा इजरायलद्वारा इरानमा गरिएको आक्रमणबाट सुरु भएको थियो ।
जुन २४ को सुरुवाती समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको युद्धविरामसम्म तीव्ररुपमा युद्ध चलिरहेको थियो । इजरायली आपतकालीन सेवाहरुले मिसाइल आक्रमणका कारण २८ जनाको मृत्यु र १३ सय भन्दा बढी घाइते भएको रिपोर्ट गरेका छन्, जबकि इरानी अधिकारीहरूले ६२७ जनाको मृत्यु भएको बताएका छन् । युद्धका दौरान इजरायली अर्थतन्त्रका धेरै क्षेत्रहरु बन्द भएका थिए ।
विद्यालय र अत्यावश्यक बाहेकका व्यवसायहरु बन्द गरिएका थिए, र सरकारले त्यस अवधिमा भएको क्षतिको लागि व्यवसायहरुलाई ५ अर्ब सेकेल (१.४ अर्ब अमेरिकी डलर) सम्म क्षतिपूर्ति दिने अपेक्षा गरेको छ । यो पछिल्लो द्वन्द्वको लागत अक्टोबर २०२३ मा हमासको आक्रमणपछि इजरायलले सम्पत्तिमा भएको क्षतिपूर्तिको रुपमा तिरेको रकमको दोब्बर भइसकेको छ ।
अघिल्ला द्वन्द्वहरुमा आक्रमणहरु प्रायः ग्रामीण वा सीमावर्ती क्षेत्रमा केन्द्रित हुने गरे तापनि, यसपटक इरानले आफ्नो ब्यालिस्टिक मिसाइलहरु इजरायलको केन्द्रीय क्षेत्रतर्फ—विशेषगरी ग्रेटर तेल अविव क्षेत्रतर्फ लक्ष्यित गरेको थियो । जुन करिब आधा इजरायली जनसंख्या र अधिकांश बुहतल्ले आवासीय तथा व्यावसायिक भवनहरु भएको क्षेत्र हो । जसका कारण इजरायलको क्षति पनि उच्च भएको हो । -एजेन्सी
प्रतिक्रिया