लाखौंमा बनेका सोलार लिफ्ट सिँचाइ आयोजना: सिँचाइ छोडेर सुकाउने मेसिन!

शुक्रबार, १८ माघ २०८१, ०७ : १२

काठमाडाैं- कर्णाली प्रदेश सरकार र स्थानीय तहको ‘भविष्यदृष्टा’ योजनाबाट लाखौं खर्च गरेर निर्माण गरिएका सोलार लिफ्ट सिँचाइ आयोजनाहरू अहिले पानी सिँच्न होइन, सरकारी बजेटको सिँचाइ गर्ने अस्त्र सावित भएका छन्। तिला, हिमा र तातोपानी गाउँपालिकामा बनेका १६ लिफ्ट सिँचाइ आयोजनामध्ये जम्मा चारवटा मात्र जीवित छन्, बाँकी १२ आयोजना ‘सिँचाइ छोडेर सुकाउने’ प्रविधिमा रुपान्तरण भइसकेका छन्।

तातोपानी गाउँपालिकामा आठ आयोजना बनाइए पनि ‘भाग्यले माया गरेका’ दुईवटा मात्र चलिरहेका छन्। योजना शाखाका अधिकृत ओमबहादुर चन्दका अनुसार यो पाँच वर्षे कार्यकालको ‘स्वर्णिम उपलब्धि’ हो। ‘सोलार लिफ्ट’ प्रणाली भनेजस्तो नटिक्दाे रहेछ, त्यसैले अहिले विद्युतीय प्रणालीबाट नयाँ आयोजना बनाउँदै छौँ,’ चन्दको दाबी छ।

हिमा गाउँपालिकाको अवस्था झन् कारुणिक छ। यहाँ बनाइएका चारै आयोजना ‘अस्तित्व’ जोगाउन संघर्षरत छन्। सूचना अधिकारी रतन रावतका अनुसार २०७७ सालमा ५० लाखको लागतमा २८५ घरधुरीका लागि बनाइएको एक लिफ्ट सिँचाइ आयोजना अहिले सोलार प्यानलसहित ‘सनबाथ’ लिइरहेको छ। ‘२५-३० वर्ष टिक्ने भनिएको सोलार त तीन वर्षमै अस्ताएछ,’ रावतले गम्भीर हास्यव्यङ्ग्य मिसाउँदै भने।

तिला गाउँपालिकाका चार लिफ्ट आयोजना मध्ये दुईवटा ‘भाग्यमानी’ परेछन्, जो कुनै गरी सञ्चालनमा छन्। बाँकी दुई भने 'सोलार ऐतिहासिक सम्पदा' को रूपमा ‘विशेष संरक्षित’ अवस्थामा राखिएका छन्।

जुम्लाको कुल २.५३ लाख हेक्टर क्षेत्रफलमध्ये ३९ हजार हेक्टर खेतीयोग्य छ। तर, त्यसमध्ये जम्मा ३,३६४ हेक्टर जमिन मात्र सिञ्चित छ। बाँकी जमिन ‘पानी देख्न नपाएर’ बँझै छ। हिमा र तिला नदीका पानी उठाएर सिँचाइ गर्ने ‘महान योजना’ ल्याइएको दशकौँ भइसक्यो, तर आयोजना स्थायी नभएर पानी ‘योजनाकारका आँखामा’ मात्र देखिएको स्थानीय बताउँछन्।

यसरी हेर्दा, कर्णालीका यी ‘प्रयोगशालामै सुकिसकेका’ लिफ्ट सिँचाइ आयोजना वास्तवमै ‘बजेट सिँचाइ’ गर्न बनाइएका रहेछन्। ‘पानी होइन, योजना र ठेकेदारहरूलाई मलजल दिने उद्देश्य पूरा भएकाले आयोजना सफल नै हो’, स्थानीयको व्यंग्य छ।

अब समाधान के? विद्युतीय लिफ्ट आयोजनाहरू बनाउने चर्चा चलिरहे पनि, ‘सोलारले घाम हेर्ने, विद्युत्को अभावले अँध्यारो हेर्ने’ नियति दोहोरिन्छ कि भन्ने चिन्ता छ। स्थानीयको सुझाव छ- ‘अब सरकारी योजना ‘सोलारबाट हराउने’ अभियान चलाउनु पर्छ, ताकि कुनै बेला पानी सिँच्नुपर्ने खेत सुकाएर सिँचाइमुक्त क्षेत्र घोषणा गर्न पाइयोस्!’

शुक्रबार, १८ माघ २०८१, ०७ : १२

प्रतिक्रिया