गुणस्तरीय कृषि औजारका लागि एशिया प्रशान्त क्षेत्रका देशहरूको ऐक्यबद्धता

शनिबार, १९ माघ २०८१, ०८ : ४६

काठमाडौं- गुणस्तरीय कृषि औजारको मापदण्ड निर्माण तथा त्यसको कानुनी सुनिश्चितताका विषयमा एशिया प्रशान्त क्षेत्रका देशहरूको ११औँ वार्षिक बैठक काठमाडौंमा सुरु भएको छ। एशिया प्रशान्त कृषि औजार परीक्षण सञ्जाल (एन्टम) को आयोजनामा सुरु भएको बैठकमा २३ सदस्य राष्ट्रहरूमध्ये १९ देशका ५५ प्रतिनिधिहरूको सहभागिता रहेको छ।

तीन दिनसम्म चल्ने बैठकमा गुणस्तरीय कृषि औजारका लागि आवश्यक कानुनी संरचना तथा त्यसको कार्यान्वयन रणनीतिमा गहन छलफल हुनेछ। नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषि क्षेत्रको आधुनिकीकरणका लागि गुणस्तरीय कृषि औजारको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नेपालमा यस्ता औजारको आयातका लागि मन्त्रालयले आवश्यक कानुनी व्यवस्था गर्न लागेको जानकारी दिए।

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको नेपाल कृषि इञ्जिनीयरिङ अनुसन्धान केन्द्रका प्रमुख तथा एन्टमका अध्यक्ष श्रीमद् श्रेष्ठका अनुसार बैठकबाट निर्माण हुने मापदण्डलाई एशिया प्रशान्त क्षेत्रका २३ वटै देशहरूले मान्यता दिने गरी कानुनी आधार तयार गरिनेछ। यसले एउटा देशमा परीक्षण भएका कृषि औजारहरूलाई सम्पूर्ण क्षेत्रका देशहरूले स्वीकृति दिने व्यवस्था सुनिश्चित गर्नेछ।

बैठकमा नेपालमा गुणस्तरहीन कृषि औजारको कारण दुई दिनमा एक जना कृषि यन्त्रका चालकको मृत्यु हुने गम्भीर तथ्यांक प्रस्तुत गरिएको थियो। नेपाल प्रहरीको अध्ययनमा आधारित यस तथ्यांकले सरकारलाई अझ गम्भीर भएर यस्ता औजारको नियमन तथा गुणस्तर जाँचमा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिएको छ।

यस बैठकबाट कृषि औजारको अन्तर्राष्ट्रिय मान्यताप्राप्त मापदण्ड निर्माण हुँदैछ, जसले सम्पूर्ण एशिया प्रशान्त क्षेत्रका किसानहरूलाई आधुनिक, सुरक्षित र प्रभावकारी कृषि औजार प्रयोग गर्ने अवसर दिनेछ।

 
 
शनिबार, १९ माघ २०८१, ०८ : ४६

प्रतिक्रिया