काठमाडाैं- नेपालमा यो साता सुनको मूल्य उतारचढावसहित अघि बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घट्दै १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो साता ३५ सय रुपैयाँले बढेको सुनको मूल्य आइतबार, सोमबार, मंगलबार र बिहीबार घटेको थियो। तर, बुधबार र साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुनको मूल्य बढ्दै समग्रमा २४ सय रुपैयाँको वृद्धि देखिएको छ।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको थियो, जुन अघिल्लो कारोबार दिनभन्दा २०० रुपैयाँले घटेको हो। सोमबार थप ३०० रुपैयाँ घटेर प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ कायम भयो। मंगलबार झन् ठूलो गिरावट आउँदै सुन ९०० रुपैयाँले घटेर १ लाख ५९ हजार २ रुपैयाँमा कारोबार भयो।
बुधबार भने सुनको मूल्यमा फेरि सुधार देखियो। सो दिन सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढ्दै १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको थियो। बिहीबार पुनः सामान्य गिरावट आउँदै सुनको मूल्य १०० रुपैयाँ घटेर १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भयो। साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुनको मूल्य २ हजार ३ सय रुपैयाँले उकालो लाग्दै १ लाख ६२ हजार ८ सय रुपैयाँ पुगेको छ।
बजार विश्लेषकहरूका अनुसार सुनको मूल्यमा आएको उतारचढाव विश्व बजारमा देखिएको अस्थिरता, डलरको भाउ तथा कच्चा तेलको मूल्यको प्रभावका कारण भएको हो। पछिल्लो समय सुनमा लगानी गर्ने प्रवृत्ति बढ्दै गएको छ, जसले गर्दा नेपालमा पनि यसको मूल्य उकालो लागेको देखिन्छ।
गत साता मात्र ३५ सय रुपैयाँले उकालो लागेको सुनको मूल्य यस साता पनि वृद्धि नै देखिएको छ। बजार विज्ञहरूका अनुसार आगामी दिनमा पनि सुनको मूल्य उच्च रहन सक्ने सम्भावना रहेको छ। साताभर विभिन्न दिनमा घटबढ भए पनि समग्रमा मूल्य वृद्धि भएको देखिन्छ। नेपालका सुनचाँदी व्यवसायीहरूका अनुसार आगामी दिनमा अन्तर्राष्ट्रिय बजारका कारण सुनको मूल्य अझै उतारचढाव हुने देखिन्छ। लगानीकर्ताहरूले यसबारे सतर्क रहनु आवश्यक देखिन्छ।
प्रतिक्रिया