भारतले नेपाललाई दिने अनुदान रकम यथावत्

शनिबार, १९ माघ २०८१, १५ : ५९

काठमाडौं - भारतले आगामी आर्थिक वर्ष २०२५–२६ का लागि नेपाललाई दिने अनुदान रकम यथावत् राखेको छ। 

भारतीय संसद्‍मा अर्थमन्त्री निर्मला सीतारमणले आज भारतीय बजेट २०२५ र २०२६ सार्वजनिक गर्दै नेपालका लागि सात सय करोड भारतीय रुपियाँ अनुदानको प्रावधान गरेको घोषणा गरेकी छन्।

सो बजेटमा विदेश मन्त्रालय अन्तर्गत राखिएको बजेटमा नेपाललाई सात सय करोड (भारु) दिने उल्लेख छ । भारतले गत आर्थिक वर्षमा नेपालका लागि अनुदान वृद्धि गरेको थियो । आर्थिक वर्ष २०२३\०२४ मा ६५७.३८ करोड (भारु) छुट्ट्याइएको थियो । त्यसमा वृद्धि गरी २०२४\०२५ मा ७०० करोड (भारु) पुर्‍याइएको थियो । त्यसलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ ।

विभिन्न देशलाई दिइएको अनुदान सहयोगमध्ये भुटानलाई सबभन्दा बढी दुई हजार १५० करोड (भारु) छुट्टाएको छ । भुटानको बजेट यस पटक घटाएको छ । अफगानिस्तानको अनुदान सहयोग बजेट पनि भारतले बढाएको छ । गत आर्थिक वर्षमा ५० करोड भारु थियो भने भने यस पटक सय करोड भारु छुट्टाएको छ ।

भारतले बंगलादेश र श्रीलंकाको बजेट पनि यथावत् राखेको छ । बंगलादेशका लागि १२० र श्रीलंकाका लागि ३०० करोड भारु बजेट छुट्टाइएको छ । तर मालदिभ्सलाई दिँदै आएको बजेटमा व्यापक वृद्धि गरेको छ ।

मालदिभ्सका लागि गत आर्थिक वर्ष ४७० करोड भारु छुट्ट्याइएको थियो भने यस पटक सिधै ६०० करोड भारु पुर्‍याइएको छ । पछिल्लो समय मालदिभ्ससँग भारतको राम्रो सम्बन्ध छैन । चीनले मालदिभ्सलाई गरेको सहयोगका कारण भारत र मालदिभ्सबिच सम्बन्ध खराब भएको छ ।

यस अवस्थामा पनि भारतले रणनीतिक हिसाबले अनुदान बजेटमा वृद्धि गरेको छ । तर त्यही म्यानमारको घटाएको छ । म्यानमारको ४०० करोड भारु थियो भने अहिले ३५० करोड छुट्ट्याएको छ । मंगोलियालाई भने दिँदै आएको पाँच करोड भारु यथावत् राखिएको छ ।
india

शनिबार, १९ माघ २०८१, १५ : ५९

प्रतिक्रिया