काठमाडौं-नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २६ गते सकिँदै छ । उनी नेपाल सरकारबाट २०७६ चैत्र २४ गते गभर्नरमा नियुक्त भएका थिए । उनको ५ वर्षे कार्यकाल सकिन अब २ महिना मात्र बाँकी छ । अधिकारी बाहिरिने समय नजिकिएसँगै नयाँ गभर्नरका लागि चलखेलको काम पनि बढ्न थालिसकेको छ । गभर्नरका आकांक्षीहरु शक्तिकेन्द्रसँग निकटता बढाउन थालिसकेका छन् ।
आफू गभर्नर भए देशको अर्थतन्त्रको मुहार फेर्ने लगायतका धारणाहरु राख्ने र आफूमाथि विश्वास बढाउनका लागि दौडधुप महिनौं अघिदेखि नै सुरु भइसकेका छन् । नयाँ गभर्नरका लागि नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नरद्वय बम बहादुर मिश्र र निलम ढुंगाना, प्रभु बैंकका सिइओ अशोक शेरचन, नबिल बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना, पूराना बैंकर राजनसिंह भण्डारी लगायत दर्जनौ आकांक्षीका रहने देखिन्छ ।
केन्द्रीय बैंकको रुपमा काम कारबाही गर्ने नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको निष्कासन, बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, निरीक्षण, सुपरिवेक्षण, अनुगमन, मूल्य स्थिरता, विदेशी विनिमय व्यवस्थापन, आर्थिक अनुसन्धान तथा अन्वेषण, बैंकिङ तथा भुक्तानी प्रणालीको विकास लगायतका क्षेत्रमा काम गर्दछ । राष्ट्र बैंकलाई नेपाल सरकारको आर्थिक सल्लाहकारकै रुपमा हेरिने हुँदा गभर्नर पदका लागि दाबेदार पनि बढ्नु स्वाभाविक नै हो ।
कसरी गरिन्छ सिफारिस
गभर्नरका लागि दाबेदारहरुको दौडधुप देखिएपनि यसको निश्चित प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ । गभर्नर छनोटका लागि सर्वप्रथम अर्थमन्त्रीको संयोजकत्वमा गभर्नर छनोट समिति बन्छ । समितिमा राष्ट्र बैंकका एक पूर्वगभर्नर र एक विज्ञ सदस्य हुन्छन् । छनोट समितिले आकांक्षीहरुबाट ३ जनाको नाम छनोट गरी सिफारिस गर्नेछन्।
सामान्यतयाः गभर्नरको कार्यकाल सकिन १ महिनाअघि नै सिफारिस समिति बन्छ । राष्ट्र बैंक ऐनमा सामान्यताः एक महिना अगावै गभर्नर नियुक्त गरी सोको सार्वजनिक सूचना प्रकाशन गरिसक्ने पनि उल्लेख गरिएको छ । तर विगतका वर्षहरुबाट नै कार्यकाल सकिने समयमै मात्र गभर्नर नियुक्त गर्ने गरिएको छ ।
राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनु पर्ने, उच्चनैतिक चरित्र भएको हुनु पर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था भएको छ ।
डेपुटी गर्भनर नीलम प्रमुख दाबेदार
नयाँ गभर्नरका डेपुटी गभर्नर नीलम ढुंगाना पनि जोडतोडका साथ लागेको सुनिन थालिएको छ । आकांक्षीहरुको सुचीमा नीलम अग्रस्थानमै रहने देखिन्छ । गभर्नर छनोट समितिले सिफारिस गर्ने ३ मध्ये एकजना डेपुटी गभर्नर हुनैपर्ने भएकाले बमबहादुर मिश्र र नीलम ढुंगानामध्ये एक जनाको नाम सिफारिस सूचीमा पर्ने पक्का देखिन्छ ।
यसका साथसाथै ढुंगाना पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसँग समयसमयमा भेटघाट गरिरहेकी हुन्छिन् भने कन्जरभेटिभ अर्थशास्त्रीको पहिचान बनाएकी उनी कांग्रेस परिवारकी छोरी हुन् । हालका गभर्नर अधिकारीलाई तत्कालीन नेकपा नेतृत्वको सरकार प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका थिए ।
यसकारण पनि सत्तापक्षनजिक आकांक्षी सिफारिस हुने सम्भावना बढी नै देखिन्छ । अहिलेको सरकारसँग ढुंगाना नजिक देखिदाँ आगामी गभर्नरका लागि उनलाई निकै शक्तिशाली दाबेदारका रुपमा हेरिएको छ ।
प्रतिक्रिया