वीरगञ्ज आन्तरिक राजस्व कार्यालयद्वारा ऐतिहासिक राजस्व संकलन

बुधबार, २३ माघ २०८१, १५ : ५२

 

काठमाडाैं- आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको पहिलो छ महिनामा उल्लेखनीय सफलता हात पार्दै चार अर्ब २० करोड ६९ लाख ५६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा एक अर्ब चार करोड ३७ लाख रुपैयाँले बढी हो।

कार्यालय प्रमुख टिकाराज चौलागाईका अनुसार चालु आवको राजस्व सङ्कलन निकै उत्साहजनक देखिएको छ। ‘‘अन्तःशुल्क मदिरातर्फ राजस्व वृद्धि मुख्य कारण हो,’’ उनले भने।

चालु आवको पहिलो छ महिनामा मात्र अन्तःशुल्क मदिरातर्फबाट एक अर्ब ४६ करोड ७३ लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको छ, जुन अघिल्लो आवको सोही अवधिको ९२ करोड ८७ लाखको तुलनामा निकै वृद्धि हो।

अन्तःशुल्क अन्य औद्योगिक उत्पादनतर्फ पनि उल्लेखनीय वृद्धि देखिएको छ। चालु आवमा यसतर्फ ३१ करोड ९० लाख सङ्कलन भएको छ, जुन गत आवको सोही अवधिको १८ करोड ७३ लाखभन्दा धेरै हो।

आयकरतर्फ पनि उछाल आएको छ। प्राइभेट लिमिटेड कम्पनीहरूबाट २३ करोड ३६ लाख राजस्व सङ्कलन गरिएको छ, जुन अघिल्लो आवको १६ करोड ९८ लाखको तुलनामा उल्लेखनीय वृद्धि हो।

व्यक्तिगत वा एकलौटी आयकरतर्फ झन् उत्साहजनक नतिजा देखिएको छ। चालु आवको छ महिनामा यसतर्फ ८७ करोड ६४ लाख राजस्व सङ्कलन गरिएको छ, जबकि अघिल्लो आवको सोही अवधिमा ४७ करोड १२ लाख ५५ हजार मात्र सङ्कलन भएको थियो।

यो वृद्धिले वीरगञ्ज आन्तरिक राजस्व कार्यालयलाई नयाँ उचाइमा पुर्‍याएको छ। आगामी दिनमा अझ वृद्धि हुने अपेक्षा गरिएको छ।

 

बुधबार, २३ माघ २०८१, १५ : ५२

प्रतिक्रिया