काठमाडाैं- नेपालगञ्जदेखि वीरगञ्जसम्मका भन्सार कार्यालय र छोटी भन्सार नाकाहरूमा बढ्दो अस्तव्यस्तता, खुला सिमानाको फाइदा उठाउँदै तस्करीको बढ्दो चाप, तथा अन्तरनिकाय समन्वय अभावले चोरीपैठारीको समस्या गहिरिँदै गएको निष्कर्ष अर्थसमितिले निकालेको छ।
समितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा माघ ११ देखि १६ गतेसम्म विभिन्न भन्सार कार्यालयहरूको अनुगमन गरिएको थियो। अनुगमनमा फेला परेका गम्भीर समस्याबारे आज संसद्को अर्थसमितिमा छलफल भएको हो।
सांसद पदम गिरीले भन्सार नाकाहरूको अस्तव्यस्तताले मुलुकलाई ठूलो राजस्व घाटा भइरहेको बताएका छन्। “धेरैजसो भन्सार कार्यालयहरूमा आवश्यक पूर्वाधार छैनन्, जाँचपास मेसिन नियोजित ढङ्गले बिगारिएका छन्, र कर्मचारी, सुरक्षाकर्मी, भन्सार एजेन्ट तथा व्यापारीबीच मिलेमतो भएको देखिन्छ,” उनले बताए।
सांसद गङ्गा कार्कीले भन्सार जाँचपास प्रक्रियामा प्रविधिको उपयोग अत्यन्त कमजोर रहेको औंल्याउँदै, “भन्सार प्रविधिमैत्री बनाउन आवश्यक छ, तर प्रविधि प्रयोग नै नगरिएको देखिन्छ,” भने।
सांसद रणकुमारी बलम्पाकी मगरले हजारौँ गाडी र मोटरसाइकलहरू भन्सार ‘यार्ड’मा वर्षौँदेखि थन्किएर बसेको बताइन्। सांसद जुलीकुमारी महतो (महासेठ)ले भन्सार कार्यालय प्रविधिको प्रयोगबिना नै तजबिजीमा सञ्चालन भइरहेको गुनासो गरिन्। सांसद नारायणी शर्माले भैरहवाको एकीकृत जाँचचौकीमा स्थानीय र केन्द्र सरकारबीचको विवादले सुरक्षा संवेदनशीलतामा गम्भीर प्रश्न खडा गरेको बताइन्।
सांसद अञ्जली श्रेष्ठका अनुसार, “भन्सार कार्यालयका कर्मचारीहरूले जानाजान मेसिन बिगार्ने गरेको अनुगमनका क्रममा देखियो।” सांसद सूर्यबहादुर थापा क्षेत्रीले भने, “क्वारेन्टाइन अफिसहरू निष्क्रिय छन्। कुखुरा, खसीबोका, राँगा, भैँसी केही पनि जाँचबिनाको अवस्था छ।” सांसद अम्मरबहादुर रायमाझीले सीमामा सुरक्षाकर्मीको संख्या अत्यन्त न्यून रहेको बताए।
सांसद छिरिङ डम्डुल लामा भोटेले भन्सार प्रणालीभन्दा बाहिरबाट तस्करीमार्फत बढी सामान नेपाल भित्रिरहेको बताए। सांसद नारायणप्रसाद आचार्यले भन्सारको समस्या समाधान गर्न सरकारी निकायहरू हेलचक्र्याइँ गरिरहेको बताए। सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भने, “भन्सारका सबै कर्मचारीहरू अनियमित छन् भन्ने बुझाइ गलत हो, तर सुधारको खाँचो छ।”
प्रहरी महानिरीक्षक वसन्त कुँवरले तस्करीको कुनै पनि मिलेमतो नरहेको दाबी गर्दै, “चालु आर्थिक वर्षमा प्रहरीले करिब तीन अर्ब मूल्यबराबरको तस्करीका सामान नियन्त्रणमा लिएको छ,” भने।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालका अनुसार, “भारतीय सीमासँग जोडिएका क्षेत्रमा करिब १,२०० जना व्यक्तिहरू करछलीका सामान ओसारपसारमा संलग्न छन्।”
सरकारले सीमाको निगरानी बढाएर, प्रविधिमैत्री भन्सार प्रणाली विकास गरेर, तथा सुरक्षाकर्मीको संख्या बढाएर मात्रै चोरीपैठारी नियन्त्रण गर्न सक्ने विज्ञहरूको सुझाव छ।
प्रतिक्रिया