नेपालमा पहिलो पटक राष्ट्रिय घर निर्माण महोत्सव आयोजना हुँदै

शुक्रबार, २५ माघ २०८१, १३ : ५१

काठमाडौं - स्कील सेवाले नेपालमा पहिलो पटक राष्ट्रिय घर निर्माण महोत्सव २०८१ को आयोजना गर्ने घोषणा गरेको छ। 

यस महोत्सवको उद्देश्य नयाँ घर निर्माण र पुराना घरहरूको मर्मत सम्भारका लागि आवश्यक सीप र प्रविधिको बारेमा जनचेतना फैलाउनु हो। घर प्रत्येक व्यक्तिको लागि सबैभन्दा मूल्यवान् सम्पत्ति हो, र यसलाई अझ सुरक्षित, भरपर्दो र दिगो बनाउनु अत्यन्त जरुरी छ। महोत्सवले यसै आवश्यकतालाई ध्यानमा राख्दै घर निर्माण र मर्मत सम्भारका क्षेत्रमा नयाँ विचार र प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

यस महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, उद्यमी, विद्यार्थी लगायतका अन्य इच्छुक व्यक्तिहरू सहभागी हुनेछन्। महोत्सवमा सहभागीहरूले घर निर्माण, मर्मतसम्भार र अन्य महत्वपूर्ण पक्षहरूमा छलफल र अन्तरक्रिया गर्ने अवसर पाउनेछन्।

महोत्सवको मुख्य आकर्षण भनेका छन्स् सस्तो र बलियो घर निर्माण, नेपालमा जे गर्छौं, त्यो नेपालमै गर्छौं भन्ने विचार, निर्माण सम्बन्धी मापदण्ड र अत्याधुनिक प्रविधिको प्रयोग। घरको आधुनिक र पारम्परिक डिजाइन, खाली स्थानको प्रयोग, बिजुली र हावापानीको उपयुक्त व्यवस्थापन, र गुणस्तरीय निर्माण विचारहरू प्रस्तुत गरिनेछन्।

यस महोत्सवले घर निर्माण र मर्मत सम्भारका लागि नवीनतम विचार र प्रविधिको बारेमा जानकारी प्रदान गर्ने मात्र होइन, यी विचारहरूबाट लगानी जुटाउने अवसर पनि सिर्जना गर्नेछ। महोत्सवले नेपालमा जे गर्छौं, त्यो नेपालमै गर्छौं भन्ने सोचलाई व्यवहारमा उतार्न मद्दत गर्ने अपेक्षासमेत गरिएको छ।

राष्ट्रिय घर निर्माण महोत्सव २०८१ले घर निर्माण र मर्मत सम्भारमा नयाँ सोच र प्रविधिको प्रयोगमा ध्यान केन्द्रित गर्दै नेपालको निर्माण क्षेत्रलाई नयाँ दिशा दिने आशा गरिएको छ।

शुक्रबार, २५ माघ २०८१, १३ : ५१

प्रतिक्रिया