प्रचण्डको देश दौडाहापछि के हुँदैछ माओवादीमा ?

सोमबार, २८ माघ २०८१, १५ : ३५

काठमाडौं–‘स्वर्ग–नर्क सँगसँगै रहने’ भनेर ओलीले थाङनामा सुताएपछि प्रचण्ड पनि के कम । निस्किए देश दौडाहामा । अब सरकारतिर झुक्किएर पनि नहेर्ने । जनतातिर फर्किए भनेर कार्यकर्तामा जोश भर्न थाले । यसबीचमा उनले देशका अधिकांश जिल्लाको भ्रमण गरे । कतै भेला गोष्ठि गरे । सम्भव भएका ठाउ“मा आमसभा नै भए । प्रचण्ड गर्जन सुन्न मानिसहरु पनि कान ठाडो पारेर आए । उनको जोश र उत्साह झन बढ्यो । प्रचण्डले सरकारको आलोचनामा काफी समय खर्च गरे । विपक्षी नेताको धर्म पनि उनले राम्रोसँग निर्वाह गरे । सत्तामा रहँदा मुर्झाएको माओवादी केही जागृत भएको जस्तो देखियो । विपक्षी क्याम्पमा माओवादी पनि एउटा शक्ति हो भन्ने आभाष दिलाउन प्रचण्ड एकहदसम्म सफल भए । स्थानीय तहको उप निर्वाचनमा माओवादीले अनपेक्षित सफलता प्राप्त गर्यो । यसपछि प्रचण्डमा ८४ मा एक्लै चुनाव लड्ने हिम्मत देखिन थालेको छ ।

बाहिर प्रचारबाजी र हो हल्ला गरे जस्तो माओवादीको आन्तरिक अवस्था भने फरक रहेको नेताहरु नै बताउँछन् । बर्षामा भेल आउँदा खहरे पनि गर्जिने गर्छ । वर्षा हटेपछि खहरेको अस्तित्व नै रहँदैन । प्रचण्डको देश दौडाहामा देखिएको र प्रचार गरिएको विषय पनि वर्षाको भेल जस्तै भएको माओवादी केन्द्रका एक पदाधिकारीले आजको अर्थलाई बताए । उनको भनाइ छ, ‘ पार्टी निर्माण यसरी हुँदैन । अध्यक्ष गएका ठाउँमा कति मानिस भाषण सुन्न आए भनेर राजनीतिक उपलब्धीको मापन हुँदैन । उहा“को कार्यक्रमपछि कति मानिस पार्टीमा कमिटेड भए भन्ने महत्वपूर्ण हो । राम हेर्न त मान्छे आइहाल्छन् नि । मुख्य कुरा आन्तरिक अवस्थाको सुदृढीकरण भयो कि भएन भन्ने हो । पार्टीको आन्तरिक जीवन अस्तव्यस्त छ । हेडक्वाटरले आफ्नो कमजोरी छोप्न बाहिर तामझाम गर्दैैछ ।’

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्य अध्यक्षको पछिल्लो समयको सक्रियताले महत्वपूर्ण राजनीतिक उपलब्धी हासिल भएको बताउँछन् । अध्यक्ष गएका सबै ठाउँमा मानिसहरुको उपस्थिति हेर्दा उत्साहित हुने अवस्था रहेको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले देश दौडाहा गरेपछि पार्टीमा संगठित हुने तथ्याङ्कबारे भने उनले एकीन गर्न सकेनन् । भन्छन, ‘अध्यक्ष अहिले राजधानीभन्दा बाहिर नै व्यस्त हुनुहुन्छ । कार्यक्रममा पार्टी प्रवेश गर्नेको संख्या उल्लेख्य नै छ । मेरो ख्यालमा, केन्द्रीय समितिको बैठकपछि पार्टी प्रवेश गर्नेको संख्या करिब पचास हजार जति होला ।’

नेकपा (माओवादी केन्द) म्याग्दीका नेता तथा गण्डकी प्रदेशसभाका सदस्य रेशम जुग्जाली अध्यक्षको भ्रमणले पार्टीको अवस्थामा केही सुधार आउने आशा जगाएको बताउ“छन् । म्याग्दीको सभापछि कति जना पार्टी सदस्य थपिए भन्ने प्रश्नमा उनले भने, ‘सदस्यता बिस्तार अभियान चलेको छैन । त्यसैले सभापछि सदस्य बन्ने संख्या छैन त्यस्तो छैन । ’

माओवादी केन्द्रका सचिव तथा गण्डकी इन्चार्ज दिनानाथ शर्मा अहिले पार्टीप्रति आकर्षण बढेको बताउ“छन् । अध्यक्षको भ्रमणले पार्टी छोडेका पूर्व माओवादी कार्यकर्ताहरु पार्टीमा फर्किने लहर चलेको र अन्य पार्टीबाट पनि प्रवेश गर्ने क्रम बढेको उनको भनाइ छ । हुलाकी राजमार्ग र मध्यपहाडि राजमार्ग केन्द्रीत कार्यक्रम बनाएर पार्टी सुदृढीकरण र राष्ट्र निर्माण कसरी गर्न सकिन्छ भनेर अभियान चलाइएको छ, उनले भने ।


 

सोमबार, २८ माघ २०८१, १५ : ३५

प्रतिक्रिया