सिंहदरबार बैैद्यखानाको बेहाल

निर्देशक केसी र लेखा अधिकृत ढकालको मिलेमतोमा आर्थिक अनियमितता, गैरकानुनी बिदामा बसेका कर्मचारीलाई समेत तलब भत्ता

शुक्रबार, ०२ फागुन २०८१, १४ : १०

काठमाडौं- सिंहदरबार बैद्यखाना विकास समितिका निर्देशक र लेखा अधिकृतले बिदा नै स्वीकृत नभएका कर्मचारीलाई तलब भत्ता खुवाएको आरोप लागेको छ ।बैद्यखानाका निर्देशक प्रदीप केसी र लेखा अधिकृत उमानाथ ढकालको मिलेमतोेमा बरिष्ठ गुणस्तर अधिकृत गोविन्द शर्मा ढकालको बिदा स्वीकृत नहुँदा पनि उनलाई तलब भत्ता दिलाएको आरोप लागेको हो ।

करिब १ वर्ष ९ महिना बिना स्वीकृत बिदा बसेका गोविन्द ढकाललाई निर्देशक केसी र लेखा अधिकृत ढकालले त्यस अवधिभरको तलब भत्ता दिलाएको आरोप सहितको उजुरी अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा समेत परेको छ । उनी २०७८/१२/१३ देखि बिदामा बसको र सो अवधिको तलब भत्ता बापतको रकम गत असोज ३० मा एकमुष्टरुपमा खुवाएको आरोप लगाइएको छ । 

बरिष्ठ गुणस्तर अधिकृत गोविन्द ढकाल लामो समयदेखि कार्यालयमा अनुपस्थित हुँदै आएका उनले बिदाका लागि निवेदन पेश गर्दा समेत स्वीकृत नभएका विवरण आजको अर्थले प्राप्त गरेको छ । उनको पछिल्लो १ वर्ष ३ महिनाको बिदा स्वीकृत नभए पनि बैद्यखानाका निर्देशक केसी र लेखा अधिकृत ढकाललाई प्रभावमा पारेर त्यस अवधिको तलब भत्ता लिन सफल भएको बताइन्छ ।  

गैरकानुनी रुपमा बिदा बसेको अवधिको तलब भत्ता दिलाएर निर्देशक प्रदीप केसी र लेखा अधिकृत उमानाथ ढकालले जनही पाँच लाख लिएको आरोप लागेको छ भने निर्देशक केसी मलेसिया जाँदा उनकी श्रीमतीको प्लेन भाडा र त्यहाँ बस्ने सम्पूर्ण प्रबन्ध उनै अस्वीकृत बिदा अवधिको तलब पाएका ढकालले व्यहोरेको आरोप लगाइएको छ । 

उनी गैर कानुनी रुपमा बिदामा बसेको भन्दै यस अघिका चार जना निर्देशकहरुले तलब भत्ता रोकेका थिए ।  निर्देशकहरु डा. साबरी साह, डा. बासुदेब उपाध्याय, डा.श्यामबाबु यादव र डा. रामबाबु यादव निर्देशक रहँदा उनको बिदा गैर कानुनी भएको भन्दै तलब भत्ता रोकेका थिए । 

तर, प्रदीप केसी निर्देशक भएर आएपछि उनकै निर्देशनमा लेखा अधिकृत उमानाथ ढकालले गैर कानुनी रुपमा बिदा बसेका गुणस्तर अधिकृत गोविन्द शर्मा ढकाललाई गत असोज ३० मा तलब भत्ता खुवाएको आरोप छ ।

सिंहदरबार बैद्यखाना विकास समितिको नियमावली २०६३ मा बिदा स्वीकृत नगराई लगातार ३० दिन भन्दा बढी कार्यालयमा अनुपस्थित रहेमा भविष्यमा सरकारी सेवाको निम्ती अयोग्य नठहरिने गरी सेवाबाट हटाउने प्रावधान छ ।

उनी मिति २०७४/१२/१२ देखि २०७५/१२/११ सम्मको असाधारण बेतलबी बिदामा बसेका थिए । त्यसपछि यही अवधिमै उनले मिति २०७५/११/१४ मा पुनः तीन वर्षको लागि बेतलबी बिदाको लागि निवेदन दिएका थिए । तर,  कर्मचारी प्रशासन नियमावली २०६३ को नियम ८.११ अनुसार सेवा अवधिमा एक पटकमा १ वर्षमा नबढाई सेवा अवधिभर तीन वर्षमा नबढाई बिदा पाउने व्यवस्था छ । 

उनले यस अघि नै १ वर्ष ९ महिनाको असाधारण बेतलबी बिदा लिइसकेकाले उनको पुनः बिदाको निवेदनबारे कानुनका विज्ञसँग छलफल गर्ने सिंहदरबार बैद्यखाना विकास समितिको बैठकले निर्णय गरेको थियो ।  तत्कालीन अध्यक्ष डा.बाबुराजा अमात्यको अध्यक्षतामा २०७८ जेठ २६ गते बसेको बोर्ड बैठकले ढकालको बिदा बारे कानुनका विज्ञसँग छलफल गर्ने निर्णय गरेको थियो ।

यस विषयमा निर्देशक केसीसँग जिज्ञासा राख्दा उनले कार्यालयमा आएर हाजिर भएको अवधिको मात्रै बरिष्ठ गुणस्तर अधिकृत ढकाललाई तलब भत्ता दिइएको जिकिर गरे । त्यसबाहेक बिदा अवधिको निर्णय गर्ने अधिकार बिदा समितिलाई मात्रै रहेको र अझै निर्णय नभएको उनले बताए ।

‘यस कार्यालयमा कार्यरत कर्मचारी भएकाले उहाँ(बरिष्ठ गुणस्तर अधिकृत ढकाल)ले हाजिर भएको अवधिको पाउनुपर्ने तलब भत्ता लिनु भएको हो’, उनले आजको अर्थसँग भने, ‘उहाँले लिएको बिदाको हकमा भने बिदा समितिले निर्णय गर्न बाँकी छ ।’


 
 

शुक्रबार, ०२ फागुन २०८१, १४ : १०

प्रतिक्रिया