काठमाडाैं- देशभर घरजग्गा कारोबार सुधारोन्मुख देखिए पनि माघ महिनामा राजस्व संकलनमा गिरावट आएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा मात्र रु ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ बराबर राजस्व संकलन भएको छ, जुन गत पुसको तुलनामा कम हो। गत पुसमा रु ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७७९ राजस्व संकलन भएको थियो।
यद्यपि, चालु आर्थिक वर्षको पहिलो सात महिनामा समग्र राजस्व संकलनमा सुधार देखिएको छ। विभागका अनुसार चालु आवको माघ मसान्तसम्म कुल रु २४ अर्ब ७१ करोड बराबर राजस्व संकलन भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै १४ प्रतिशतले वृद्धि भएको हो। गत आवको सोही अवधिमा रु २१ अर्ब ६५ करोड बराबर राजस्व संकलन भएको थियो।
माघ महिनामा कुल ४६ हजार ५० हजार ६९ लिखत पारित भएको थियो, जुन गत पुसको ४८ हजार १५६ को तुलनामा केही कम हो। काठमाडौँ उपत्यकाका नौवटा मालपोत कार्यालयहरूमध्ये सबैभन्दा धेरै राजस्व संकलन गर्ने कार्यालय लगनखेल मालपोत कार्यालय बनेको छ। सो कार्यालयले रु ३३ करोड ७४ लाख बराबर राजस्व संकलन गरेको छ।
अन्य प्रमुख मालपोत कार्यालयहरूको राजस्व संकलन विवरणमा डिल्लीबजार मालपोत कार्यालयले रु २६ करोड ९२ लाख, कलङ्की मालपोत कार्यालयले रु २६ करोड १ लाख, चाबहिल मालपोत कार्यालयले रु २० करोड ८० लाख, र भक्तपुर मालपोत कार्यालयले रु २४ करोड ४२ लाख बराबर राजस्व संकलन गरेको देखिन्छ।
राजस्व संकलनमा देखिएको उतारचढावले घरजग्गा कारोबारको प्रवृत्तिमा विविधता देखाएको छ। आगामी महिनामा बजार थप उकासिने अनुमान गरिए पनि नीतिगत स्थिरता र लगानीकर्ताको विश्वास वृद्धि गर्न आवश्यक रहेको विज्ञहरूको सुझाव छ।
प्रतिक्रिया