बुद्ध एयरलाई पुराना जहाज बेचेर बिन्टर क्यानारिजले अत्याधुनिक विमान भित्र्याउँदै

विहीबार, ०८ फागुन २०८१, ०७ : ५७

काठमाडाैं- क्यानाडाको प्रतिष्ठित वायु सेवा प्रदायक बिन्टर क्यानारिजले आफ्ना पुराना एटीआर ७२–५०० शृंखलाका विमानलाई विस्थापित गर्दै अत्याधुनिक एटीआर ७२–६०० भित्र्याउने घोषणा गरेको छ। यसले कम्पनीको हवाई सेवा अझ बढी कुशल, आरामदायी र वातावरणमैत्री बनाउने लक्ष्य राखेको छ।

बिन्टर क्यानारिजले आफ्नो हवाई सेवाको आधुनिकीकरणलाई तिव्रता दिँदै चारवटा एटीआर ७२–६०० विमानलाई अत्याधुनिक ‘पीडब्ल्यू १२७ एक्सटी’ इन्जिन जडित नयाँ विमानद्वारा प्रतिस्थापन गर्न लागेको छ। कम्पनीले सन् २०२४ को अन्त्यसम्म थप पाँचवटा विमान खरिद गर्ने फर्म अर्डर गरिसकेको छ।

एभिएटर डट एरोका अनुसार, बिन्टर र एटीआरबीचको यो साझेदारी सन् २०२४ मा सम्पन्न निर्माताको पत्रकार सम्मेलनमा औपचारिक रूपमा घोषणा गरिएको थियो। बिन्टरका अध्यक्ष रोडोल्फो नुनेजका अनुसार, ‘यी नवीनतम एटीआर ७२–६०० विमानमा हाम्रो लगानीले यात्रुहरूलाई उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै इन्धन खपत, कार्बन उत्सर्जन र सञ्चालन लागतमा उल्लेखनीय कटौती गर्नेछ।’

बिन्टर क्यानारिजले क्यानरी द्वीप समूहलाई सहज रूपमा जोड्ने लक्ष्यका साथ आफ्नो हवाई सेवा प्रवर्द्धन गर्दै आएको छ। हाल यस कम्पनीसँग २६ वटा एटीआर ७२–६०० विमान छन्, जसले वार्षिक रूपमा ५० लाखभन्दा बढी यात्रुहरूलाई सेवा प्रदान गर्दै आएको छ।

बिन्टर क्यानारिजले पुराना एटीआर ७२–५०० शृंखलाका सबै विमान बिक्री गरिसकेको छ। तीमध्ये केही विमान नेपालको निजी वायु सेवा प्रदायक बुद्ध एयरले खरिद गरी आन्तरिक तथा क्षेत्रीय अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गर्दै आएको छ।

सन् १९८९ मा पहिलो एटीआर ७२–२०० भित्र्याएर हवाई सेवा सुरु गरेको बिन्टर क्यानारिजले आज पनि आफ्ना यात्रुहरूलाई कुशल, सुरक्षित र आरामदायी यात्रा अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको छ। नयाँ प्रविधि भित्र्याउने यो निर्णयले कम्पनीलाई अझ सबल बनाउनुका साथै यात्रुहरूलाई उच्चस्तरीय सेवा दिने लक्ष्यलाई थप सशक्त बनाउनेछ।

विहीबार, ०८ फागुन २०८१, ०७ : ५७

प्रतिक्रिया