काठमाडौं - नाडाको सहकार्यमा आउँदो २०८१ सालको चैत्र १४ देखि १७ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा पहिलो पटक ‘नाडा प्रिजेण्ट्स वाडा अटो शो २०२५’ आयोजना हुने भएको छ।
आयोजक वेस्टर्न अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले आजदेखि स्टल बुकिङ खुला गरेको छ। गत २०८१ पौष २० गते नाडाले आफ्नो संस्थागत (प्रदेश) सदस्य वाडाका पदाधिकारी तथा सदस्यहरूसँग पोखरामा अटो शो आयोजना गर्ने विषयमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो। प्रदर्शनीमा सहभागी हुन इच्छुक व्यवसायीहरूबीच गरिएको सर्वेक्षणका आधारमा पहिलो पटक पोखरामा अटो शो गर्ने निर्णय भएको हो।
यस अटो शोमा २-पाङ्ग्रे, ३-पाङ्ग्रे, ४-पाङ्ग्रे, लाइट कमर्शियल, हेभी कमर्शियल सवारी साधन तथा मेसिनरी उपकरणहरू प्रदर्शन गरिनेछ। साथै, वित्तीय संस्था, बीमा कम्पनी, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरण सम्बन्धी व्यवसायहरूका लागि पनि विशेष व्यवस्था गरिएको छ।
वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले अटोमोबाइल क्षेत्रले अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनामा ठूलो योगदान पुर्याइरहेको उल्लेख गर्दै यस अटो शोले उद्योगी, व्यवसायी, कर्मचारी तथा आम उपभोक्ताहरूलाई नयाँ प्रविधिसँग परिचित गराउने विश्वास व्यक्त गरे। नाडाले सम्भाव्यता अध्ययन गरी अन्य प्रमुख सहरहरूमा पनि यस्ता अटो प्रदर्शनी आयोजना गर्ने योजना बनाएको छ।
प्रतिक्रिया