धादिङको काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी

मंगलबार, १३ फागुन २०८१, १२ : ४२

काठमाडौं - कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको धादिङको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारको १८ वटा पसलबाट १८ प्रकारका तरकारी परीक्षण गरेको थियो, जसमा पसल नम्बर ६१३ मा बिक्रीका लागि राखिएको काउलीमा ९७.६२३ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । 

यस विषादीको मात्रा अत्यधिक भएकाले उक्त काउलीलाई उपभोग अयोग्य घोषणा गरिएको छ। बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीहरूको मात्र परीक्षण हुँदै आएको छ, र ३५ प्रतिशतभन्दा कम विषादी भएको फलफूल तथा तरकारी उपभोग योग्य मानिन्छ, भने ४५ प्रतिशतभन्दा बढी विषादी भएकोलाई खपतका लागि अयोग्य ठहरिन्छ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार, उक्त काउलीको विषादी स्तर ९७ प्रतिशतको उच्च मात्रामा रहेकोले यसलाई खाने योग्य मानिँदैन। 

समितिले सबै उपभोक्तालाई यस बारे सचेत गराउने र बजारमा स्वास्थ्यको दृष्टिकोणबाट सुरक्षित तरकारी बिक्रीको सुनिश्चितता गर्न पहल गर्ने बताएको छ।
 

मंगलबार, १३ फागुन २०८१, १२ : ४२

प्रतिक्रिया