काठमाडौं - नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड आजदेखि आफ्नो ४० औं वर्षमा प्रवेश गरेको छ।
३९औं वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष पृथ्बी बहादुर पाँडेले ग्राहक, संस्थापक, शेयरधनी, संचालक समिति, नियामक निकाय, कर्मचारी र सरोकारवालाहरूलाई निरन्तर सहयोग र विश्वासका लागि धन्यवाद व्यक्त गरे। उनले बैंकको सफल यात्रामा सबैको योगदानको महत्त्वपूर्ण भूमिका रहेको बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले बैंकिङ सेवाहरूलाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधिको उपयोगलाई प्राथमिकता दिएको र डिजिटल बैंकिङलाई थप सशक्त बनाउन प्रतिबद्धता व्यक्त गरे। उनले बैंकको नीति “समृद्धिको पथमा सँगै अघि बढ्दै” भन्ने नारासहित ग्राहकको सुविधालाई प्राथमिकता दिँदै नवीनतम सेवा सुरु गरिएको जानकारी दिए।
यस अवसरमा बैंकले वित्तीय साक्षरतासम्बन्धी चित्र पुस्तकको सातौं संस्करण 'डिजिटल बैंकिङको जादु' सार्वजनिक गरेको छ। यस पुस्तकले बालबालिकालाई बैंकिङ प्रणालीबारे सचेत गराउने र अभिभावकलाई डिजिटल बैंकिङ सेवाको उपयोग गर्न प्रेरित गर्ने उद्देश्य राखेको छ।
बैंकले नयाँ 'नव आयाम बचत खाता' पनि सार्वजनिक गरेको छ, जसमा ग्राहकहरूले रु. ३९ मौज्दातमै खाता खोल्न सक्नेछन्। साथै, रु. ३९ मा मोबाइल बैंकिङ, भर्चुअल प्रिपेड कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड र लकर सेवामा ३९५ प्रतिशत छुटको सुविधा उपलब्ध गराइएको छ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले हाल २८३ शाखा, २६६ एटीएम, ६५ एक्सटेन्सन काउन्टर, र ६६ शाखारहित बैंकिङ काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ। उत्कृष्ट व्यावसायिक प्रदर्शनका कारण बैंकले ७ वटा 'बैंक अफ दि ईयर' अवार्ड प्राप्त गरेको छ भने, अन्तर्राष्ट्रिय स्तरमा युरोमनीबाट 'बेस्ट बैंक २०१८','बेस्ट बैंक २०२१' र 'बेस्ट बैंक २०२३' अवार्ड पनि प्राप्त गरेको छ।
बैंकले आफ्नो ४० औं वर्षमा डिजिटल बैंकिङ क्षेत्रको नयाँ दिशा तय गर्दै यस क्षेत्रमा अझ बलियो भइ ग्राहकहरूको सेवा पुर्याउने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया