पोर्साको म्याकन फोर ईभीमा काइरोस इन्टरनेशनलको करोडौं नाफा, १ करोड ३२ लाख मार्जिन राखेर बिक्री

बुधबार, २१ फागुन २०८१, १३ : ३६

काठमाडौं- काइरोस इन्टरनेशनलले विद्युतीय गाडी पोर्साको म्याकन फोर ईभीमा करोडौं नाफा राखेर बिक्री मूल्य राखेको खुलेको छ । 

ल्यान्डिङ कस्ट २ करोड ३३ लाख रुपैयाँ पर्ने यो गाडी कम्पनीले ३ करोड ६५ लाख रुपैयाँ मूल्यमा बिक्री गर्ने घोषणा गरेको छ।  कम्पनीले एउटै गाडीमा १ करोड ३२ लाख रुपैयाँ अतिरिक्त नाफा राखेर बिक्री मुल्य तय गरेको देखिएको हो । 

नेपाल भित्र्याउँदा गाडीको सीआईएफ (खरिद मूल्य, बीमा र ढुवानी शुल्क) ६५ हजार ४२० अमेरिकी डलर रहेको छ। भन्सार, अन्तःशुल्क, भ्याट र सडक मर्मत दस्तुर जोड्दा कुल लागत २ करोड ३२ लाख ८७ हजार १ सय २३ रुपैयाँ पुग्छ। व्यवसायिक लागत गणनाको आधारमा यो गाडीको बिक्री मूल्य धेरै देखिएको हो ।

साथै कम्पनीले यो गाडी अवैध रुपमा नेपाल ल्याएको देखिएको छ । जर्मन लक्जरी ब्रान्डको यो गाडी पोर्साले उत्पादन गरेको हो । तर, काइरोसले उक्त कम्पनीसँग आधिकारिक बिक्रेता सम्झौता गरेको छैन । हङकङको अटोमोबाइल युनिभर्सल डेभलपमेन्ट इन्टरनेसनल (एयूडीआई) नामक कम्पनीसँग सम्झौता गरेर गाडी नेपाल ल्याएको पाइएको छ। 

काइरोस इन्टरनेसनलले पोर्सा, आउडी र ल्यान्ड रोभरका गाडी आयात गरिसकेको छ । कम्पनीले यीै ब्रान्डहरु हङकङको एयूडीआई र साउथ चाइना एक्जिम लिमिटेड नामक कम्पनीबाट खरिद गरेर ल्याइएको छ ।  

यो लक्जरी गाडीमा २८५ किलोवाट मोटर पावर, ३८७ पीएस पावर जेनेरेशन, अधिकतम २२० किमि प्रतिघण्टाको गति, ५.२ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको एक्सेलेरेशन, र  ५१६–६१२ किलोमिटर रेन्ज रहेको छ । २७० किलोवाट डीसी फास्ट चार्जर सपोर्ट गर्ने यो गाडी २१ मिनेटमा ८० प्रतिशत चार्ज हुने बताईएको छ । १०० किलोवाट आवरको लिथियम आयन ब्याट्री, १८४ एमएम ग्राउन्ड क्लियरेन्स र अफ रोडका लागि २२५ एमएमसम्म बढाउन मिल्ने सुविधा गाडीमा रहेको छ ।
 

बुधबार, २१ फागुन २०८१, १३ : ३६

प्रतिक्रिया