काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढी रहेको तरलता व्यवस्थापन गर्न थप २५ अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ।
राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फागुन २५ गते फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
यो २१ दिने निक्षेप संकलन उपकरणको चैत १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । फागुन लागेपछि केन्द्रीय बैंकले यो सातौँ पटक तरलता खिच्ने भएको हो ।
यसअघि फागुन ४ गते र ६ गते ४०र४० अर्ब रुपैयाँ र ११ गते ३० अर्ब रुपैयाँ तरलता खिचेको थियो । त्यस्तै, १३ गते र १८ गते २५ अर्ब रुपैयाँ, २१ गते ५० अर्ब रुपैयाँ तरलता खिचेको थियो ।
प्रतिक्रिया