भारतमा लोकप्रिय ओला स्कुटर नेपाली बजारमा कहिले आउला ?

सोमबार, २६ फागुन २०८१, १६ : ५५

काठमाडौं- भारतीय अटोबजारमा ओला इलेक्ट्रिक स्कुटरको लोकप्रियता दिनदिनै बढिरहेको छ । 

पेट्रोलको बढ्दो मूल्य र वातावरणीय चेतनाका कारण मानिसहरु इलेक्ट्रिक सवारी साधनतर्फ आकर्षित हुन थालेका हुन् । विशेषगरी युवा र कामदारले ओलाको स्टाइलिश र उन्नत प्रविधियुक्त स्कुटर मन पराइरहेका छन् ।

ओला इलेक्ट्रिकको ब्याट्री लाइफ, उन्नत प्रविधि जस्तै डिजिटल डिस्प्ले, स्मार्ट कनेक्टिभिटी र शक्तिशाली ब्याट्री प्रदर्शनले यसलाई अन्य दुई पाङ्ग्रे सवारी साधन भन्दा फरक बनाएको छ।

ओला इलेक्ट्रिकको फिचर र आकर्षक मूल्यका कारण ओला इलेक्ट्रिक स्कुटर पहिलो रोजाइ बन्दै गएको हो। कम्पनीले एस१एक्स, एस१ एयर र एस१ प्रो जस्ता तीन प्रमुख मोडेल बजारमा ल्याएको छ । यसमा उन्नत ब्याट्री प्रविधि, लामो दूरी र स्मार्ट कनेक्टिभिटी फिचर समावेश छ ।

ओला एस१ प्रो मोडेलले १८१ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ, जबकि एस१एक्स मोडेलले ९५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसबाहेक यी स्कुटरमा डिजिटल टचस्क्रिन, भ्वाइस कन्ट्रोल र जीपीएस नेभिगेसन जस्ता फिचर समेत पाउन सकिन्छ ।

नेपालमा भने यो स्कुटर कहिले आउने भन्ने टुंगो लागेको छैन । सिजी मोटर्सले सन् २०२२ मा आयोजना भएको ईभी अटो एक्स्पोमा पहिलो पटक ओलाका स्कुटर प्रदर्शनी गरेको थियो ।कम्पनीले बिक्रीको लागि भने ल्याएको छैन ।

अहिले पनि यो स्कुटर नेपाल ल्याउन धेरै अटोमोबाइल व्यवसायी लागि परेका छन् । तर यसको नेपाल यात्रा भने टुंगो लागेको छैन ।

सोमबार, २६ फागुन २०८१, १६ : ५५

प्रतिक्रिया