४.१६ प्रतिशतमा झर्यो मूल्यवृद्धि , कुन प्रदेशमा कति ?

मंगलबार, २७ फागुन २०८१, ११ : ४०

काठमाडौं - चालू आर्थिक वर्षको ७ महिनासम्म नेपालमा उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत पुगेको छ। पुस मसान्तसम्म यो दर ५.४१ प्रतिशतमा रहेको थियो भने, माघ मसान्तमा वार्षिक बिन्दुगत आधारमा यो ४.१६ प्रतिशतमा झरेको हो। 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति माघ महिनामा ४।९५ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत रहेको थियो।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू र तेलको उपसमूहमा १२.८० प्रतिशत, दाल र गेडागुडीमा ९.०६ प्रतिशत, तरकारीमा ७.५६ प्रतिशत र खाद्यजन्य पदार्थमा ६.३६ प्रतिशतको वृद्धिदर देखिएको छ। यद्यपि, मरमसला उपसमूहको मुद्रास्फीति २.९८ प्रतिशतले घटेको छ।

गैर-खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मुद्रास्फीति १०.९१ प्रतिशत, कपडा र जुत्ता चप्पलमा ५.३६ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ५.०८ प्रतिशत, यातायातमा ५.०१ प्रतिशत, सुर्तीजन्य पदार्थमा ४.१० प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा ४.०७ प्रतिशतको वृद्धि भएको छ।

नेपालको विभिन्न भौगोलिक क्षेत्रहरूमा पनि मुद्रास्फीति दरमा भिन्नता देखिएको छ। काठमाडौं उपत्यकामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३ प्रतिशत, तराई क्षेत्रमा ४.२५ प्रतिशत, पहाडी क्षेत्रको ४.११ प्रतिशत र हिमाली क्षेत्रमा ५.२१ प्रतिशत रहेको छ।

प्रदेशगत रूपमा, कोशी प्रदेशमा ६.१५ प्रतिशत, मधेस प्रदेशमा ३.९१ प्रतिशत, बागमती प्रदेशमा ३.३५ प्रतिशत, गण्डकी प्रदेशमा ३.४० प्रतिशत, लुम्बिनी प्रदेशमा ४.१६ प्रतिशत, कर्णाली प्रदेशमा ४.०५ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ४.७१ प्रतिशतको मुद्रास्फीति दर रहेको छ।
 

मंगलबार, २७ फागुन २०८१, ११ : ४०

प्रतिक्रिया