ह्वावे डिजिटल पावर र सिएनआईद्वारा ‘सौर्य पीभी र ऊर्जा भण्डारण संवाद’आयोजना

मंगलबार, २७ फागुन २०८१, १५ : ०५

काठमाडौं - ह्वावे डिजिटल पावर नेपालले नेपाल उद्योग परिसंघ (सिएनआई) सँगको सहकार्यमा ‘सौर्य पीभी र ऊर्जा भण्डारण संवाद’ कार्यक्रम आयोजना गरेको छ।

काठमाडौंको हात्तीसारस्थित ह्वावे प्रदर्शनी केन्द्रमा सम्पन्न उक्त विशेष संवादमा ऊर्जा, व्यापार तथा औद्योगिक क्षेत्रका ८० भन्दा बढी प्रतिष्ठित सरोकारवालाहरू सहभागी भएका थिए। कार्यक्रमले नेपालको ऊर्जा प्रणालीलाई रूपान्तरण गर्न तथा देशलाई हरित र दिगो भविष्यतर्फ डोऱ्याउने उद्देश्य राखेको थियो। 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, ऊर्जा नियामक आयोगलगायत निकायहरूको संलग्नतामा आयोजित यस कार्यक्रमलाई नेपालको औद्योगिक ऊर्जा क्षेत्रको विकास र दिगो भविष्यतर्फको संक्रमणको लागि महत्त्वपूर्ण मानिएको छ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ वक्ताहरूले आफ्ना विचार राखेका थिए। ह्वावे नेपालका सीईओ जिम हुआङ, ऊर्जा विकास परिषद्का अध्यक्ष आशिष गर्ग, ह्वावे नेपाल डिजिटल पावर विभागका निर्देशक जेम्स झाङ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकी उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठ, एनएमबी बैंकका दिगो ऊर्जा बैंकिङ प्रमुख दिनेश दुलाल, विद्युत नियमन आयोगका सदस्य डा. मधुसूदन अधिकारी तथा टोङवेई, शिव शक्ति समूह, डिजेपीएल समूह र चौधरी समूहका प्रतिनिधिहरू वक्ताका रूपमा कार्यक्रममा सहभागी थिए।

कार्यक्रममा वक्ताहरूले सौर्य पीभी तथा ऊर्जा भण्डारण प्रविधिको नवप्रवर्तन र व्यावहारिक उपयोगबारे विस्तृत छलफल गरेका थिए। यी प्रविधिहरूले उद्योगहरूलाई डिकार्बोनाइज गर्न, ऊर्जा लागत घटाउन तथा दिगो अभ्यासहरू प्रवर्द्धन गर्न कसरी सहयोग गर्छन् भन्ने विषयमा गहन विचार-विमर्श गरिएको थियो।

कार्यक्रमका दौरान ह्वावेले आफ्ना नवीनतम ऊर्जा समाधानहरू सार्वजनिक गरेको थियो। ‘ह्वावे फ्युजन सोलार सी एन्ड आई ओएसिस सोलुसन’ तथा १ सीर१५० के र २१५\१०८ केडब्लुएच सी एन्ड आई ब्याट्री इनर्जी स्टोरेज सिस्टमको अनावरण ह्वावे नेपालका सीईओ जिम हुआङ, हुवावे नेपालका प्रमुख प्राविधिक अधिकृत लिक्सियाओवेई तथा ह्वावे दक्षिण एसिया डिजिटल पावर बिजनेस डिपार्टमेन्टका प्रबन्ध निर्देशक निक्सियाओपेङको नेतृत्वमा गरिएको थियो।

यी प्रविधिहरू नेपाली उद्योगहरूको ऊर्जा लागत घटाउन तथा बिजुली आपूर्तिको भरपर्दो संयन्त्र विकास गर्न केन्द्रित छन्। फ्युजन सोलार सी एन्ड आई ओएसिस स्मार्ट पीभी र ईएसएस सोलुसनको प्रदर्शन गरिएको थियो, जसले शपिङ मल, कारखाना तथा कार्यालय पार्कहरूमा ऊर्जा सुरक्षाको नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

ह्वावे नेपालका सीईओ जिम हुआङले आफ्नो सम्बोधनमा भने, ‘नेपालको ऊर्जा भविष्यलाई सबल बनाउन हामी प्रतिबद्ध छौं। नवीन प्रविधिहरूको उपयोग गर्दै दिगो समाधानहरू अपनाउनु हाम्रो प्राथमिकता हो।’ उता, सिएनआई ऊर्जा विकास परिषद्का अध्यक्ष आशिष गर्गले भने, ‘नेपालको औद्योगिक क्षेत्रको भविष्य सौर्य ऊर्जा तथा ऊर्जा भण्डारण समाधानहरूसँग जोडिएको छ। डिकार्बोनाइजेसनमार्फत स्वच्छ ऊर्जा लक्ष्य प्राप्त गर्न हामी सबैले हातेमालो गर्नुपर्छ।’

कार्यक्रमका अन्य वक्ताहरूले पनि नेपाली उद्योगहरूलाई नवीनतम प्रविधिहरू अवलम्बन गर्न तथा दिगो ऊर्जा रूपान्तरणको यात्रामा सहकार्य गर्न आग्रह गरेका थिए।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र राज पाण्डेले समापन मन्तव्य दिँदै भने, ‘स्वच्छ र भरपर्दो ऊर्जा व्यवस्थापन नेपालको दिगो आर्थिक विकासको मेरुदण्ड हो। आज प्रस्तुत गरिएका नवीन समाधानहरूले हाम्रो ऊर्जा भविष्यलाई सुरक्षित बनाउन ठोस योगदान दिनेछन्।’

सौर्य पीभी र ऊर्जा भण्डारण संवाद कार्यक्रममा ऊर्जा नवप्रवर्तन, प्रविधि स्थानान्तरण तथा दीर्घकालीन ऊर्जा रणनीतिहरूको विकासमा सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो। ह्वावे डिजिटल पावर नेपालले स्वच्छ ऊर्जा प्रविधिको प्रवर्द्धन गर्न निरन्तर नवीनता तथा सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

कार्यक्रम समापनसँगै हरित ऊर्जा प्रणाली विकासका लागि ह्वावे तथा नेपाली उद्योगीहरूबीच रणनीतिक साझेदारी आवश्यक रहेको स्पष्ट भएको छ। सौर्य ऊर्जा र ऊर्जा भण्डारण प्रविधिको अधिकतम उपयोगमार्फत नेपाललाई कम कार्बन उत्सर्जनयुक्त दिगो भविष्यतर्फ लैजान सबै पक्षहरू जुट्नुपर्ने निष्कर्ष कार्यक्रमले निकालेको छ।

मंगलबार, २७ फागुन २०८१, १५ : ०५

प्रतिक्रिया