सवारीसाधनको मूल्य बढ्नुमा नाडा अटो शोको मुख्य भूमिका !

आइतबार, ०३ चैत्र २०८१, १७ : १४

काठमाडौं- नेपालको अटोमोबाइल क्षेत्रमा नाडा अटो शो सबैभन्दा ठूलो प्रदर्शनीको रुपमा लिइन्छ । सवारी साधनका पारखीका लागि त्यहाँ नयाँ गाडी, मोटरसाइकल, इलेक्ट्रिक सवारीसाधन र आधुनिक प्रविधिहरू सार्वजनिक गर्ने गरिन्छ ।

तर, सधैंका वर्षहरूमा नाडा अटो शो महँगो ब्रान्डहरूकै मात्र खेलमैदान बनेको आरोप लाग्ने गर्छ । यसको मुख्य कारण स्टल भाडा अत्यधिक महँगो भएको साना अटो व्यवसायीहरुको गुनासो छ । 

नाडा अटो शोमा सहभागी हुन सवारीसाधन कम्पनीहरूले लाखौँ रुपैयाँ स्टल भाडा तिर्नुपर्ने भएकाले महँगो ब्रान्डहरूकै खेलमैदान भएको जिरो एमिसन राइडका सेल्स एण्ड मार्केटिङ हेड शंकर शर्मा बताउँछन् । उनले उचित मूल्यमा गाडी बेच्ने कम्पनीहरूले भाग लिन कठिन हुने गरेको उनले बताए । तर महँगो गाडी बेच्ने ब्रान्डहरू बढी नाफा राख्न सक्ने भएकाले सहभागी हुन सक्षम देखिने उनको भनाइ छ ।

उनी भन्छन् ‘मध्यम वर्गलाई लक्षित गरेर सस्तो र गुणस्तरीय सवारीसाधन बेच्ने कम्पनीहरू नाडा अटो शोमा नदेखिनुका पछाडि यो नै प्रमुख कारण होस्टल भाडा अत्यधिक महँगो हुँदा यसको प्रत्यक्ष असर गाडीको मूल्यमा पर्न जान्छ। ’

प्रदर्शनीमा सहभागी भएका कम्पनीहरूले आफ्नो स्टल खर्च उठाउन गाडीको मूल्यमा थप शुल्क समावेश गर्ने गरेको शर्माले बताए । यसले बजारमा सवारीसाधनहरू झनै महँगो हुने हुँदा नेपालमा सवारीसाधनको मूल्य वृद्धि हुनुमा नाडा अटो शोको भूमिका पनि रहेको उनले जिकिर गरे ।

नेपालको अटोमोबाइल बजारलाई सबैका लागि सहज बनाउने हो भने नाडा अटो शोको स्टल भाडालाई यथार्थपरक बनाउँदै सस्तो र गुणस्तरीय सवारीसाधन बेच्ने ब्रान्डहरूलाई पनि सहभागिता जनाउने अवसर दिनु आवश्यक रहेको उनको भनाइ छ । 

केबल महँगा ब्रान्डहरू मात्र प्रदर्शनीमा देखिएमा सर्वसाधारणका लागि उपयुक्त विकल्पहरू सीमित हुँदै जाने उनले बताए । यसको दीर्घकालीन असर नेपालको अटोमोबाइल बजारमै पर्ने शर्माले औंल्याए ।

आइतबार, ०३ चैत्र २०८१, १७ : १४

प्रतिक्रिया