काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु आवको सात महिनाको अवधिमा १४८ खर्ब ६१ अर्ब ५५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ। तरलता व्यवस्थापन गर्न राष्ट्रले तरलता खिचिरहे पनि अधिक तरलताको अवस्था यथावत नै रहेको छ ।
यस अवधिमा, नेपाल राष्ट्र बैंकले बोलकबोलमार्फत १८ खर्ब ०९ अर्ब ५५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत १३० खर्ब ५२ अर्ब गरी कुल १४८ खर्ब ६१ अर्ब ५५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको हो। साथै, २ अर्ब ७० करोड रुपैयाँ ओभरनाइट तरलता सुविधाको उपयोग भएको पनि उल्लेख गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विभिन्न मौद्रिक व्यवस्थापनका उपकरणहरूमार्फत २७ अर्ब ९४ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो।
समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ८७ करोड खरिद गरी ३ खर्ब ८७ अर्ब ५६ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब १९ करोड डलर खरिद गरी ४ खर्ब २४ अर्ब रुपैयाँ तरलता प्रवाह गरिएको थियो।
माघ महिनासम्म अमेरिकी डलर २ अर्ब २४ करोड रुपैयाँ बिक्री गरी ३ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब १६ करोड रुपैयाँ बिक्री गरी २ खर्ब ८७ अर्ब २५ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।
अर्थिक वर्ष २०८१\८२ को सात महिनामा वाणिज्य बैंकहरूले ९ खर्ब ३७ अर्ब ८१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूले १ खर्ब २ अर्ब २० करोड रुपैयाँ गरी कुल १० खर्ब ४० अर्ब १ करोड रुपैयाँ अन्तर–बैंक कारोबार गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले २५ खर्ब ९६ अर्ब १८ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूले २ खर्ब ७६ अर्ब २६ करोड रुपैयाँ गरी कुल २८ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ अन्तर-बैंक कारोबार गरेका थिए।
प्रतिक्रिया