नाडा र भन्सार विभागबीच बजेटबारे छलफल

विहीबार, ०७ चैत्र २०८१, १० : ०२

काठमाडौं- नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) र भन्सार विभागबीच अटोमोबाइल व्यवसायसम्बन्धी विषयमा छलफल भएको छ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरी विभिन्न विषयमा छलफल गरेको हो। महासचिव उप्रेतीले नाडाका विभिन्न समितिहरूबाट संकलित सुझावहरू प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा आवश्यक संशोधनको माग गरेका छन्।

उनले सरकारले अटोमोबाइल व्यवसायीहरूको समस्यालाई ध्यानमा राखी नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। व्यवसायलाई सहज बनाउन भन्सार नीतिहरू स्पष्ट हुनुपर्ने र व्यवसायीहरूले स्वच्छ प्रतिस्पर्धाको वातावरणमा काम गर्न पाउनु पर्ने नाडाको माग रहेको छ।

महानिर्देशक भट्टराईले व्यवसायीहरूले नैतिक व्यापारिक मान्यतालाई आत्मसात गर्नुपर्ने बताउँदै सरकारले पनि स्वच्छ व्यवसाय प्रवर्द्धन गर्न आवश्यक नीति तथा संयन्त्र निर्माण गर्ने बताए। उनले व्यवसायी र सरकारले पारस्परिक समन्वय बढाउनु पर्नेमा जोड दिएका छन्।

सोही छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, लुब्रिकेन्टस् समितिका उपसभापति दीपक कुमार लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। उनीहरूले व्यवसायमैत्री नीति निर्माणका लागि सरकारसँग निरन्तर छलफल आवश्यक रहेको उल्लेख गरे।

नाडाले स्वच्छ व्यवसायको वातावरण तयार गर्नका लागि सरकारलाई विशेष आग्रह गरेको छ। साथै, अटोमोबाइल क्षेत्रलाई सहज बनाउने नीति तथा नियम लागू गर्नुपर्नेमा पनि नाडाले ध्यानाकर्षण गराएको छ।

छलफल सकारात्मक रूपमा सम्पन्न भएपनि नीतिगत सुधारबारे थप संवाद आवश्यक रहेको व्यवसायीहरूको धारणा रहेको छ।

विहीबार, ०७ चैत्र २०८१, १० : ०२

प्रतिक्रिया