असिनापानीले मकै सखाप, मिहिनेत खेर जाँदा चिन्तामा किसान

शनिबार, ०९ चैत्र २०८१, १३ : १४

काठमाडौं- रौतहटमा बेमौसमी वर्षा र असिनाका कारण अन्न, तरकारी तथा फलफूल बालीमा क्षति पुगेको छ ।

चन्द्रपुरसहित उत्तरी भेगमा शनिबाार बिहान करिब २ बजेतिर आएको असिना पानीले मकै बालीमा बढी क्षति पुगेको हो । चन्द्रपुर नगरपालिका–८ का कृषक शिव तिमल्सिनाका अनुसार घोगा लागेको हरियो मकै खेती असिनाले सखाप पारेको हो ।

अबको एक दुई महिनापछि घरमा भित्र्याउने बेला हुने विकासे मकै असिना पानीले नष्ट पारेको हो । मकै खेती गर्दा विरुवा छँदा गोवारो रोगले दुःख दिने गरेको गुनासो गर्दै उनले बल्ल–बल्ल हुर्काए पनि सुगा र असिना पानीबाट जोगाउन नसकिएको बताए ।

सुगाबाट बचाउन सकिए पनि प्रकृतिबाट बचाउन नसकिएको उनले बताए । तिमल्सिनाको जस्तै रौतहटका विभिन्न स्थानमा असिनापानीले मकैबाली नष्ट गरेको छ । वृन्दावन नगरपालिकाको विभिन्न गाउँमा गरिएको हिउँदे बालीमा असिना पानीले क्षति गरेको स्थानीय कृषकहरूले बताएका छन् ।

असिनाले गहुँ, मुसुरो, तेलहन, दलहन, आप, लिची, कटहर जस्ता बालीमा बढी क्षति गरेको कृषकहरूको भनाइ छ । आप र लिचीको मजुर फुल अर्थात बतिला ९स–साना अवस्था० असिना पानीका कारण झरेर क्षति पुगेको उनीहरू बताउँछन् । कृषि ज्ञान केन्द्र गौरले मकैसहित अन्य बालीमा रोग, कीरा तथा प्राकृतिक विपत्तिबाट हुँदै आएको क्षतिलाई नियन्त्रण गर्न बिमा गर्नु पर्ने सुझाव दिएको छ ।

असिना पानीले खपडा, फुस, टाली घर पनि क्षति पुगेको स्थानीयले बताएका छन् । हिउँदे बर्षा र असिनाका कारण ईट्टामा पनि क्षति पुगेको व्यवसायीहरू बताउँछन् । असिना पानीले गरेको क्षतिका बारेमा तिनै तहको सरकारले ध्यान दिनुपर्ने कृषकहरूको माग छ ।


 

शनिबार, ०९ चैत्र २०८१, १३ : १४

प्रतिक्रिया