५ कम्पनीको लिलामी सेयर भर्ने आज अन्तिम दिन

आइतबार, १० चैत्र २०८१, १० : १६

काठमाडौं- एनआईसी एसिया बैंकले लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको ५ वटा कम्पनीको करिब साढे १४ लाख बढी कित्ता सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

एनआइसीले चैत ३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सीआईटी (नागरिक लगानी कोष) को ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफ ५० हजार कित्ता, निफ्रा १० लाख कित्ता र जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ गरी कुल १४ लाख ४६ हजार ९०२ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

जसमा सीआईटीको ६९६ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २६९ रुपैयाँ, सूर्यज्योति लाइफको १५९ रुपैयाँ, निफ्राको १०५ रुपैयाँ र जीवन विकास लघुवित्तको ५४० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ ।

सीआईटीको बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । अन्य ४ कम्पनीको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा भने न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ ।

बोलपत्र आवेदन काठमाडौंको थापाथली ट्रेड टावरस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।

सेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । 

 

आइतबार, १० चैत्र २०८१, १० : १६

प्रतिक्रिया