एउटै लौकाको पाँच हजार ! लौका बेचरै मासिक ४० हजार आम्दानी

मंगलबार, १२ चैत्र २०८१, ०६ : ३१

इलाम-जिल्लाको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक रु ४० हजार आम्दानी गर्दै आएकी छन्। कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उनी परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बनेकी छन् । 

भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिन्छिन् । दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिने उनको दैनिकी हो । सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उहाँले बेमौसमी तरकारीखेती गर्नसके मनग्ये आम्दानी गर्न सकिने धारणा राखिन् ।

भण्डारीले १० बिघा जमिनमा विभिन्न कृषिउपजको खेती गरेको बताइन् । “अहिले हरियो मकै खानेबेला भएको छ, विभिन्न तरकारी पनि छन् । आफ्नो छ कट्ठा मात्र जमिन छ ।बाँकी भाडामा लिएर खेती गरिरहेका छौँ”, उनले भनिन् ।

बारीमा अधिकांश समय लौका हुने उनको भनाइ छ । गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ । सुरुमा प्रतिलौका रु १७० बिक्री जनाउँदै उनले अहिले भने रु ५० मा बिक्री हुने बताइन् ।

उनले उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गर्नुहुन्छ । करिब सात किलोमिटरमा पर्ने यो बजारमा उनी दैनिकजसो जाने गर्छन् ।   

भण्डारीले मासिक रु ४० हजार बढी लौकाबाट आम्दानी हुने गरेको बताइन् । उनले भनिन्, “लौका बेचेर छोरा बुहारीलाई जापान पठाएँ । दैनिक घरव्यवहार चलाउन समस्या छैन ।” छोरा बुहारीलाई जापान पठाउन लिएको ऋण रु १५ लाख तिरिसक्न लागेको उनले उल्लेख गरे ।

लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको भण्डारीले बताए । घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेको बताउँदै उनले आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि बजार लगेर बिक्री गर्छिन्।

“दही, मोही बेचेको देखेर कतिपयले दहीवाली दिदी पनि भन्छन् । कर्मले दहीवाली दिदीसमेत बनाएको छ । यो नामले बोउँदा झन खुसी लाग्छ”, भण्डारीले भनिन् ।

उनका श्रीमान् भुपूप्रहरी हुन् । श्रीमान्ले उत्पादित वस्तु चुलाचुलीको गाउँमा लैजाने गरेको भण्डारीको भनाइ छ । “बस्ती बाक्लो भएका ठाउँमा डुलाउन पर्दैन । डुलाएर बेच्दा भने मूल्य महँगो पर्दछ”, उनले भनिन् ।

भण्डारीले १७ वर्षअघिदेखि यो पेसालाई निरन्तर दिँदै अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न भएको बताइन् । हालै स्थानीय निकायबाट अनुदानका कार्यक्रममा सहभागी भएको उनले जानकारी दिइन् ।

दीपज्योति कृषि फार्म सञ्चालन गरेकी भण्डारीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाइन्। कृषिमा अग्र्यानिक उत्पादनमा गर्नुपर्नेमा जोड दिँदै उहाँले घर भएका गाई र बाख्राको मल प्रयोग गर्ने गरेको जानकारी दिइन् ।   

आफूले १० जनालाई रोजगारी दिएको जनाउँदै भण्डारीले कतिपयलाई घण्टाका आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा कामदार राखेको बताइन् । प्रेसर, सुगर भएकाहरूले लौका खोज्दै घरसम्म आउने उनको भनाइ छ । 

भण्डारीले एउटै लौकाबाट रु पाँचदेखि रु सात हजारसम्म आम्दानी गरेको जानकारी दिइन् । लौका तरकारीका रूपमा बेच्दा रु दुई सयसम्म परे पनि यसको बीउबाट बढी फाइदा लिन सकिने उनले बताइन् । रु ५० को तीन वटा बीउ घरबाट बिक्री हुने उनले जानकारी दिइन् । 

“ध्वाँसे र घिउ लौका बजारमा बढी माग हुन्छ । यसको बजारीकरणमा समस्या छैन । ठूलो दाना भएको लौकामा बढी बीउ हुने भएकाले मूल्य साट्ने पनि गर्छौँ । सानो दानामा कम बीउ हुँदा कम मूल्य पर्दछ । लौकाको बीउका साथै बोडी, काँक्रा, सिमीलगायत तरकारीको बीउ पनि उत्तिकै बिक्री हुन्छ”, भण्डारीले भनिन् ।

मंगलबार, १२ चैत्र २०८१, ०६ : ३१

प्रतिक्रिया