आन्तरिक राजस्व कार्यालय भद्रपुरले उठायो आठ महिनामा एक अर्ब ९८ करोड राजस्व

मंगलबार, १२ चैत्र २०८१, १५ : २६

काठमाडौं - आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा रु एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व संकलन गरेको छ । उक्त रकम गत आव २०८०\०८१ को सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । 

कार्यालयको तथ्यांकअनुसार गत आव २०८०\०८१ को सोही अवधिमा रु एक अर्ब ८४ करोड १७ लाख १५ हजार राजस्व संकलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । आन्तरिक राजस्व कार्यालयले चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । 

गत आवभन्दा राजस्व संकलन बढे पनि चालु आवको आठ महिनाको लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन भएको छ । कार्यालयले आठ महिनामा आयकरबाट रु ८९ करोड २७ लाख ८५ हजार, ब्याजबापत रु छ करोड ९० लाख ९० हजार, मूल्य अभिवृद्धि करबापत रु ६६ करोड ६५ लाख १५ हजार, अन्तःशुल्कबापत रु ३३ करोड १८ लाख ४५ हजार राजस्व संकलन गरेको छ ।

अन्तःशुल्क तिर्ने प्रतिष्ठानको नियमित अनुगमन र निगरानीले गर्दा चालु आवको आठ महिनामा गत वर्ष सोही अवधिको तुलनामा ४३ दशमलव ७९ प्रतिशत अन्तःशुल्क वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले बताए । 

कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायत कानुनी कारबाही गर्ने गरिएको उनले बताए ।  

मंगलबार, १२ चैत्र २०८१, १५ : २६

प्रतिक्रिया