गभर्नरका लागि आकांक्षीको दौडधुप तीव्र, यी हुन् प्रमुख दाबेदार

डेपुटी गर्भनरसहित राष्ट्र बैंकका कार्यकारीदेखि सिईओ र पूर्व बैंकरहरुसम्म

विहीबार, १४ चैत्र २०८१, १७ : १३

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन केही दिन मात्र बाँकी छ । उनको कार्यकाल यही चैत २४ गते सकिन लागेको हो । 

राष्ट्र बैंकको १९ औं तथा नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले तीन सदस्यीय समिति गठन गरिसकेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा सरकारले समिति गठन गरेको हो । समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल रहेका छन् । 

प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर राणासँग चैत २५ गते सपथ ग्रहण गरी कार्य सुरु गरेका हालका गभर्नर महाप्रसाद अधिकारी नेपाल सरकारबाट २०७६ चैत्र २४ गते गभर्नरमा नियुक्त भएका थिए । अधिकारी बाहिरिने समय नजिकिएसँगै गभर्नरका आकांक्षीहरु शक्तिकेन्द्रसँग निकटता बढाउन थालिसकेका छन् । 

गभर्नरका लागि पूर्वप्रशासक राष्ट्र बैंकका क्याडर, बैंकका सीईओ, पूर्वपत्रकारदेखि मौद्रिक अर्थशास्त्रका जानकार साथै योजनाविद् तथा विकास अर्थका विभिन्न क्षेत्रमा विगतदेखि संलग्नहरु दाबेदार देखिएका छन् । जसका लागि २ दर्जन बढी आकांक्षीहरु छन् । तीमध्ये कतिपय राजनीतिक तथा शक्तिकेन्द्रसँगको पहुँचका आधारमा पनि आफूलाई गभर्नरको दाबेदार मानिरहेका छन् । महिनौं अघिदेखि गभर्नर बन्ने दौडधुप थालेका उनीहरु समय नजिकिदैैँ गर्दा जोडतोडले लागि परेका छन् । 

केन्द्रीय बैंकको रुपमा काम कारबाही गर्ने नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको निष्कासन, बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, निरीक्षण, सुपरिवेक्षण, अनुगमन, मूल्य स्थिरता, विदेशी विनिमय व्यवस्थापन, आर्थिक अनुसन्धान तथा अन्वेषण, बैंकिङ तथा भुक्तानी प्रणालीको विकास लगायतका क्षेत्रमा काम गर्दछ । राष्ट्र बैंकलाई नेपाल सरकारको आर्थिक सल्लाहकारकै रुपमा हेरिन्छ । 

राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनु पर्ने, उच्चनैतिक चरित्र भएको हुनु पर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था भएको छ । 

डेपुटी गर्भनरद्वयसहित राष्ट्र बैंकका कार्यकारीहरुको पनि दाबेदारी 

आकांक्षीहरुको सुचीमा हालका डेपुटी गभर्नरहरु नीलम ढुंगाना र बमबहादुर मिश्रको नाम अग्रस्थानमै रहेको छ । गभर्नर छनोट समितिले सिफारिस गर्ने ३ मध्ये एकजना डेपुटी गभर्नर हुनैपर्ने भएकाले पनि बमबहादुर मिश्र र नीलम ढुंगानामध्ये एक जनाको नाम सिफारिस सूचीमा पर्ने पक्का देखिन्छ । 

वित्तीय स्थायित्वमा जोड दिँदै शास्त्रीय अर्थशास्त्रीको पहिचान बनाएकी ढुंगाना वित्तीय स्थायित्वमा बढी जोड दिन्छिन् । ढुंगानाले प्रधानमन्त्री ओलीपत्नी राधिका शाक्य, पूर्वराष्ट्रपति भण्डारी र कांग्रेस सभापति देउवाको निवासमै पुगेर आफूलाई गभर्नर बनाउन लबिइङ गरिसकेको सुनिन थालेको छ ।

यता राष्ट्र बैंकमा कार्यकारी निर्देशक बनेको केही समयमै डेपुटी गभर्नरमा नियुक्त भएका बमबहादुर मिश्र प्रधानमन्त्री केपी ओलीका छिमेकी साथै एमाले निकटसमेत हुन् । एमाले नेताहरुसँग मिश्रको राम्रो सम्बन्ध भएकै कारण उनले डेपुटी गभर्नर बन्न सकेको बताईने गरेको छ । डेपुटी गभर्नर नियुक्त हुँदाको राजनीतिक साथ रहेकोले उनलाई अहिलेको सरकारबाट पनि साथ मिल्न सक्ने देखिन्छ । 

त्यस्तै राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ पनि गभर्नरका बलियो दाबेदार हुन् । उनले हालै बैंकबाट राजीनामा दिएका छन् । राष्ट्र बैंक गभर्नरको दौडमा रहेका उनले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । हालका अर्थमन्त्री विष्णु पौडेल अघिल्लोपटक अर्थमन्त्री हुँदा अर्थमन्त्रालयको सल्लाहकार भएर समेत काम गरिसकेका छन् । 

उनै पौडेल अहिले पनि अर्थमन्त्री छन् र गभर्नर छनोट समितिको संयोजक छन् । यसअघि राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिका बेला पौडेलले श्रेष्ठलाई डेपुटी गभर्नर बनाउन खोज्दा प्रधानमन्त्री ओलीको हस्तक्षेपका कारण श्रेष्ठ डेपुटी गभर्नर बन्न सकेका थिएनन् । प्रधानमन्त्री ओलीले समेत अर्कोपटक हेर्ने भनेकाले गभर्नरका सबैभन्दा शक्तिशाली दाबेदारका रुपमा हेरिएको छ । 

राष्ट्र बैंकभित्रबाट गभर्नरका लागि अर्का बलियो दाबेदार राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट हुन् । भट्टलाई डेपुटी गभर्नर बनाउन नसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले यसपटक गर्भनर बनाउन सक्ने देखिन्छ । यसो त देउवाले नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न भट्टलाई प्रस्ताव गरेका थिए । तर, त्यतिबेला प्रस्ताव अस्वीकार गरेका भट्टको चासो गभर्नरमा छ । राम्रो अर्थशास्त्रीको छवि बनाएका र अहिलेसम्म विवादमा नतानिएका भट्टलाई गभर्नरको बलियो उम्मेद्वारका रुपमा हेरिएको छ ।

बैंकका सिईओ र पूर्व बैंकरहरु पनि दाबेदार 

विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृत र पूर्व बैंकरहरु पनि गभर्नरको दाबेदारका रुपमा देखिएका छन् । उनीहरुले आफू निकटका राजनैतिक दलसँग भेटघाट बढाउनेदेखि मनाउनेसम्म थालेको बुझिन्छ । हालको पदबाट कतिपयले राजीनामा समेत दिन थालिसकेका छन् ।  

गभर्नरको दौडमा अग्रस्थानमा रहेका ज्ञानेन्द्र ढुंगानाले हालै मात्र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका छन् । नेपाल बैंकर्स संघको अध्यक्ष भएर काम गरिसकेका उनले भारतबाट चार्डर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् । डा. चिरञ्जीवी नेपाल गभर्नर नियुक्त हुँदा ढुंगाना पनि दाबेदार थिए । त्यो समय सफल नभएका उनी यसपटक पनि चर्चा छन् । कांग्रेसको संस्थापन पक्षसँग नजिक रहेका ढुंगानाको देउवासँगै दोस्रो तहका नेताहरुसँग पनि राम्रो सम्बन्ध छ । उनले हालै दिएको राजीनामाबाट उनी गभर्नरको दौडमा लागिपरेको बुझ्न सकिन्छ । 

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत अशोक शेरचन गभर्नरको बलियो दाबेदार हुन् । सरकारमा रहेको नेकपा एमालेसँग निकट उनको प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिधा सम्बन्ध छ । साथै, उनी कांग्रेस र रास्वपा पार्टीका नेताहरुसँग पनि नजिक छन् । शेरचनले प्रभु फाइनान्सलाई विकास बैंक हुँदै ग्रान्ड बनाउन र अवस्था बिग्रिएका किष्ट र सेन्चुरी बैंकलाई मर्ज गरेर सफल बनाउने सम्म गरेका छन् । प्रधानमन्त्री ओलीले बैंकरलाई   विश्वास गरेभने शेरचनले गभर्नरको बाजी मार्ने सम्भावना छ ।

गभर्नर बन्ने दौडमा बैंकर सन्तोष कोइराला पनि अग्रस्थानमा देखिएका छन् । माछापुच्छ्रे बैंकमा दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत कोइराला नेपाल बैंकर्स संघको अध्यक्ष पनि हुन् । नेपाल विद्यार्थी संघको राजनीतिसमेत गरेका कोइराला कांग्रेसको भागमा गभर्नर आएमा बलिया दाबेदार हुन् । साथै प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडासँग पनि कोइरालाको सम्बन्ध राम्रो छ । तसर्थ, कांग्रेसले प्रस्ताव गरेको अवस्थामा उनका लागि एमालेले अवरोध नगर्ने अनुमान गर्न सकिन्छ ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक रवीन्द्र पाण्डे पनि गभर्नरको दाबेदार हुन् । उनी हाल राष्ट्र बैंकको सञ्चालक छन् । राष्ट्र बैंकको आर्थिक अनुसन्धान र सुपरिवेक्षण विभागको प्रमुख भएर काम गरेको उनले अवकाशपछि राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष भएर काम गरेका थिए । पूर्वअर्थमन्त्रीद्वय डा. रामशरण महत र डा. प्रकाशशरण महतसँग निकट पाण्डेको आरजु देउवासँग राम्रो सम्बन्ध छ । उनलाई पनि कांग्रेसबाट प्रस्ताव हुनसक्ने गभर्नरको बलियो दाबेदार मानिएको छ । 

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पूर्व बैंकर पनि हुन् । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य उनी गभर्नरका बलिया दाबेदार हुन् । उनले कुमारी बैंक र सिद्धार्थ बैंकमा विभागीय प्रमुखका रुपमा काम गरिसकेका छन् । डेभलपमेन्ट इकोनोमिका जानकार भट्टसँग मौद्रिक अर्थशास्त्रको अनुभव भने छैन । ओलीले योजना आयोगको सदस्य बनाएका भट्टलाई ओलीले नै लगानी बोर्डको सीईओ बनाएका थिए । सत्ता साझेदार दलका शेरबहादुर देउवा र केपी ओलीसँग भट्टको सिधा पहुँचका कारण उनलाई प्रमुख दाबेदार मानिएको छ । 

राष्ट्र बैंकका कर्मचारीहरुले केही समयदेखि बैंकका सीईओ पूर्व बैंकरलाई गभर्नर बनाउनु हुँदैन भनिरहेका छन् । तर सरकारले गभर्नरको जिम्मेवारी दिने निर्णय गरेमा बैंकरहरुपनि निकै बलियो दाबेदारको रुपमा प्रस्तुत भएका छन् ।

प्रशासनतर्फबाट पनि गभर्नरमा दाबेदारी

गभर्नरमा अर्थसचिव समेत नभएको व्यक्तिलाई नियुक्ति गर्नु हुँदैन भन्ने आवाज राष्ट्र बैंकका कर्मचारीले उठाउँदै आएका छन् । तर प्रशासक क्षेत्रबाट पनि गभर्नरमा दाबेदारी भने देखिएका छन् । 

५८ वर्षे उमेर हदका कारण पूर्वमुख्यसचिवको जिम्मेवारीबाट अवकास पाएका राजेन्द्र किशोर क्षेत्री पनि गभर्नरका लागि दाबेदार हुन् । उनले सहकारी, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, ऊर्जा मन्त्रालयको सचिवका रूपमा काम गरेका छन् । यद्यपि उनका लागि अर्थमन्त्रालय सम्वद्ध निकायहरुको पदाधिकारी तथा सदस्य नियुक्ति सम्बन्धी मापदण्ड २०७३ को पहिलो संशोधन बाधक बन्न सक्छ । उक्त मापदण्डमा ६५ वर्ष नाघेको व्यक्ति पदाधिकारी वा सदस्य हुन नसक्ने व्यवस्था छ । अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले मापदण्ड संशोधन गरेको अवस्थामा भने आरजु देउवा निकट मानिने क्षेत्री गभर्नरका सबैभन्दा शक्तिशाली दाबेदार हुन् । 

नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशकका रुपमा कार्यरत गोकर्ण अवस्थी पनि गभर्नर बन्ने दौडमा छन् । उनी २०८१ भदौ ४ गतेदेखि अवस्थी पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको सञ्चालक छन् । लामो समय पत्रकारिता गरेका उनी कान्तिपुर दैनिकको अर्थ सम्पादकसम्म बनेका थिए । देउवाको कोर टिमका दिलेन्द्र बडू, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरुसँगै अवस्थीको महामन्त्री गगन थापासँग पनि राम्रो सम्बन्ध छ । साथै, एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पूर्वअर्थमन्त्री डा युवराज खतिवडासँगको सम्बन्धका कारण अवस्थी पनि मुख्य दाबेदारमा परेका छन् । 

नेपाल विद्युत प्राधिकरणमा दुईपटक प्रबन्ध निर्देशकको रुपमा काम गरेका पूर्वसचिव अर्जुन कार्की पनि गर्भरका लागि दाबेदार देखिएका छन् । पराराष्ट्रमन्त्री आरजु देउवाले कार्कीलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउन चाहेको तर प्रधानमन्त्री केपी ओलीले हतेन्द्रदेव शाक्यमाथि अन्याय भएको भन्दै नियुक्ति दिएको समेत सुनिएको छ । कार्कीलाई गभर्नरका लागि कांग्रेसले अघि बढाउन सक्ने सम्भावना छ । 

देशको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने प्रमुख भूमिका गभर्नरको हुन्छ । सरकार आर्थिक रुपमा सफल वा असफल हुने कुरा निर्धारण हुने हुँदा राजनीतिक रुपमा समेत गभर्नरलाई उच्च महत्त्वका साथ हेरिन्छ । यसका साथै गभर्नर नियुक्तिको समय पनि नजिकिएकोले दाबेदारहरुको तीव्र दौडधुप भईरहेको छ ।

विहीबार, १४ चैत्र २०८१, १७ : १३

प्रतिक्रिया