काठमाडौं- नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायहरूका लागि एकीकृत परिपत्र २०८१ जारी गरेको छ।
यो परिपत्र २०८० मा जारी गरिएको एकीकृत परिपत्र तथा २०८१ फागुन १९ गतेसम्म जारी गरिएका अन्य परिपत्रहरूलाई एकीकृत गर्दै तयार पारिएको हो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ तथा विदेशी विनिमय (नियमित गर्ने ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गर्दै यो परिपत्र जारी गरिएको छ।
विदेशी विनिमय व्यवस्थापन अन्तर्गत वस्तु आयात सम्बन्धी व्यवस्था परिमार्जन गरिएको छ। भारत तथा अन्य मुलुकबाट हुने आयातको सन्दर्भमा प्रतीतपत्र कारोबारका लागि नयाँ प्रावधानहरू लागू गरिएका छन्।
आयातकर्ताले प्रतीतपत्र खोल्दा सम्बन्धित बैंकले तोकेअनुसारको निवेदन तथा आवश्यक कागजातहरू पेश गर्नुपर्नेछ। कागजातमा सामानको नाम, ब्रान्ड, मोडेल नम्बर, उत्पादक मुलुक, परिमाण, मूल्य, इन्कोटर्म्स तथा भुक्तानीको प्रकार स्पष्ट उल्लेख हुनुपर्नेछ।
यस व्यवस्थाअन्तर्गत एक पटकको आयातका लागि अधिकतम अमेरिकी डलर १ लाख वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा प्रयोग गर्न सकिनेछ। भारतबाट हुने आयातमा भने यस्तो सीमा भारतीय रुपैयाँ ३ करोडसम्म तोकिएको छ।
खाद्य तथा पेय पदार्थ आयातका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट पूर्व स्वीकृति लिनुपर्ने प्रावधान जारी गरिएको छ।
हवाईजहाज, दूरसञ्चार, तथा मेडिकल उपकरणका पार्टपूर्जाहरू आपत्कालीन अवस्थामा विदेशबाट मगाउनु परेमा अधिकतम अमेरिकी डलर १,००,००० मूल्यका सामान अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिनेछ।
प्रतिक्रिया