काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल ३ मा विभिन्न देशहरुका लागि नयाँ भन्सार शुल्क लगाउने निर्णय गरेका थिए । जसमा समावेश सबै देशहरुको आधारभूत भन्सार शुल्कको १० प्रतिशत गत शनिबार अर्थात् अप्रिल ४ बाट लागू भयो । ट्रम्पको अन्य भन्सार शुल्क भने अप्रिल ९ बाट लागू हुने जानकारी ह्वाइट हाउसले दिएको थियो ।
अमेरिकाले लगाएको भन्सार शुल्कमा चीनले जवाफी भन्सार शुल्क लगाउँदै जाँदा एक हप्ताभित्रै विश्वको समग्र अर्थतन्त्रमा नै उथलपुथलको स्थिति सिर्जना भयो । सुरुमा अमेरिकाले नयाँ भन्सार शुल्क घोषणा गर्दा चीन विरुद्ध ३४ प्रतिशत थप शुल्कको घोषणा गरेका थिए । जसका कारण सम्पूर्ण चिनियाँ सामानको जम्मा भन्सार शुल्क ५४ प्रतिशत पुगेको थियो ।
त्यसपछि चीनले पनि प्रतिशोधात्मक रुपमा अमेरिकी आयातमा ३४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गर्यो । फेरि अमेरिकाले चिनियाँ सामानमा भन्सार शुल्क १०४ प्रतिशत पुर्याए भने जवाफमा चीनले अप्रिल ८ बुधबार ८४ प्रतिशत आयतकर घोषणा गरेको गर्यो । बुधबार नै ट्रम्पले चीनबाट आयात हुने सामानहरूमा भन्सार शुल्क १२५.५ मा वृद्धि गराएका छन् । अमेरिकालाई जवाफी भन्सार शुल्क लगाउँदै आएको चीन यसपटक भने जवाफी कर लाउने पक्षमा देखिएन ।
भन्सार शुल्कमा चीन र अमेरिकाबीच जुहारी चल्दा विशेष गरी विभिन्न देशहरुको सेयर बजारमा प्रत्यक्ष रुपमा असर देखिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार शुल्कहरू घोषणा गरेपछि विभिन्न देशहरूको सेयर बजारमा उल्लेखनीय प्रभाव पर्यो। अमेरिकामा अप्रिल २ मा राष्ट्रपति ट्रम्पले नयाँ भन्सार शुल्कहरूको घोषणा गरेपछि अमेरिकी सेयर बजारमा ठूलो गिरावट आयो। यो घोषणापछि एसएण्डपी ५०० फ्युचर्स ३।९ प्रतिशतले घट्यो, डाउ जोन्स इन्डस्ट्रियल एभरेज २।७ प्रतिशतले घट्यो, र न्यासड्याक कम्पोजिट १०० फ्युचर्स ४.७ प्रतिशतले घटेको थियो ।
अप्रिल ३ मा पनि न्यासड्याक कम्पोजिट १,६०० अंकले घट्यो, जुन कोभिड १९ को महामारीपछिकै सबैभन्दा ठूलो गिरावट थियो। त्यो दिन मात्र एसएण्डपी ५०० ले ६.६५ प्रतिशत गुमायो, र डाउ जोन्स १,६७९ अंक अर्थात् ३.९८ प्रतिशतले घट्यो। रसेल २००० सूचकांक ६.५९ प्र्रतिशतले घटेर ‘वियर मार्केट’ मा प्रवेश गरेको थियो । अप्रिल ४ मा चीनले जवाफी रूपमा ३४ प्रतिशत भन्सार शुल्क लगाएपछि डाउ जोन्स २,२३१ अंकले घट्यो जुन ५.५ प्रतिशतको गिरावट हो ।
एसएण्डपी ५०० ले ५.९७ प्रतिशत गुमायो र न्यासड्याक कम्पोजिट ५.८ प्रतिशतले घटेर ‘वियर मार्केट’ मा प्रवेश ग¥यो। दुई दिनमा डाउ जोन्स ले ४,००० भन्दा बढी अंक लगभग ९.४८प्रतिशत गुमाएको थियो । एसएण्डपी ५०० ले १० प्रतिशत र न्यासड्याकले ११ प्रतिशत गुमाउनु परेको थियो । जापानी बजारमा पनि ट्रम्पको घोषणाले गिरावट आएको थियो । अप्रिल २ मा निक्केई २२५ सूचकांक २.८ प्रतिशतले घट्यो भने र टपिक्स ३.१ प्रतिशतले घटेको थियो ।
अप्रिल २ मै युरोपेली बजारहरूमा पनि गिरावट देखियो। लण्डनको एफटीएसई १०० सूचकांक १.६ प्रतिशतले, पेरिसको सीएसी ४० ३.३ प्रतिशतले, र जर्मनीको डीएएक्स ३.१ प्रतिशतले घटेको थियो । दक्षिण कोरियाली सेयर बजारमा पनि यसको प्रभाव देखिएको थियो । अमेरिकाले क्यानडा, मेक्सिको, र चीनबाट आयातमा भन्सार शुल्क लगाउने घोषणा गरेपछि मार्च ११ मा कोस्पी सूचकांक ३२.७९ अंक घटेको थियो । सुचकांक घट्दा विदेशी र संस्थागत लगानीकर्ताहरूले ५९७.७ अर्ब वोनको सेयर बिक्री गरेका थिए ।
अमेरिकी भन्सार शुल्कको असरले भारतीय सेयर बजार पनि प्रभावित भएको थियो । एसएण्डपी बिएसई सेन्सेक्स ३६८.०३ अंकले घट्यो, र एनएसई निफ्टी ५० भने १३६.३० अंकले घटेको थियो ।
नेपालको बजार तथा अर्थतन्त्र भारतसँगको व्यापारमा निर्भर भएकोले अमेरिकी भन्सार शुल्कको प्रत्यक्ष असर नपरेपनि भारतको बजारको प्रभाव भने नेपालको बजारमा पनि परेको केही मात्रामा परेको सेयर बजारमा लगानी गर्दैै र बजारकोबारे विश्लेष्ण समेत गर्दै आएका एक विश्लेषकले बताए । अमेरिकी भन्सार शुल्कको सिधा प्रभाव नपरेपनि विश्वव्यापी आर्थिक अस्थिरताले अप्रत्यक्ष रुपमा नेपाली सेयर बजारमा केही असर पारेको उनले बताए ।
चीनको भन्सार शुल्कमा वृद्धि गराउँदै गएका ट्रम्पले अन्य देशको १०.५ प्रतिशतभन्दा माथिको शुल्क भने ९० दिनलाई स्थगित गर्ने घोषणा गरेका छन् । नयाँ भन्सार शुल्क लागू हुने दिन अप्रिल ९ मै ट्रम्पले यो निर्णयलाई स्थगित गरेका हुन् ।
युरोपेली संघ, जापान, दक्षिण कोरिया, क्यानडा, मेक्सिको, अष्ट्रेलिया, थाइल्याण्ड, भारत, भियतनाम, बंगलादेश, पाकिस्तान, इन्डोनेसिया, ताइवान, स्विट्जरल्यान्ड, दक्षिण अफ्रिका, इजरायल, युक्रेन, र संयुक्त अधिराज्य (बेलायत) जस्ता राष्ट्रहरूलाई लगाएको भन्सार शुल्क हालका लागि स्थगित भएको हो । यसअघि अमेरिकाले क्यानडा र मेक्सिकोसँग विशेष सम्झौता गरेर ३० दिनका लागि भन्सार शुल्कहरू स्थगित गरेको थियो। भन्सार शुल्कमा छुट दिने बित्तिकै विभिन्न देशका सेयर बजारमा उछाल आएको छ ।
राष्ट्रपति ट्रम्पले अधिकांश देशहरूका लागि ९० दिनको भन्सार शुल्क स्थगन गर्ने घोषणा गरेपछि अमेरिकामा न्यासड्याक कम्पोजिट १२.१६ प्रतिशतले वृद्धि भएको छ । एकैदिन यतिधेरै न्यासड्याक कम्पोजिट वृद्धि भएको यो वर्षको पहिलो रेकर्ड हो । एसएण्डपी ५०० मा ९.५२ प्रतिशतले उकालो लागेको छ भने डाउ जोन्स इन्डस्ट्रियल एभरेज ७.८७ प्रतिशतले वृद्धि भएको छ । दक्षिण कोरियामा यो निर्णयको असरले ४.९० प्रतिशतले वृद्धि भएको कोस्पी सूचकांक ५.५७ प्रतिशतको गिरावटमा बन्द भएको छ ।
युरोपेली बजारहरूमा भने यो घोषणा भएको दिन बजारमा गिरावट देखियो। लण्डनको एफटीएसई १०० सूचकांक ४.३८ प्रतिशतले, पेरिसको सीएसी ४० अप्रिल ८ मा ४.८२ प्रतिशतले, र जर्मनीको डीएएक्स ४.८२ प्रतिशतले घटेको छ । भारतमा एनएसई सेन्सेक्स ५९ अंकले घटेको छ भने एनएसई निफ्टी २४ अंकले घटेको छ । आज नेपालमा पनि नेप्से परिसुचक ८.६० अंकले घटेको छ । अमेरिकाको भन्सार शुल्क ९० दिन पछि सार्ने घोषणाले अमेरिकाको बजारलाई भने सकारात्मक भएको देखिएको छ ।
अमेरिकाले नेपालसहित बेलायत, सिंगापुर, ब्राजिल, अष्ट्रेलिया, न्यूजिल्याण्ड, टर्की, कोलम्बिया, अर्जेन्टिना, एल साल्भाडोर, संयुक्त अरब इमिरेट्स र साउदी अरबजस्ता देशहरुलाई भने आधारभूत दर भन्सार शुल्क लगाएको छ । जुन १० प्रतिशत मात्र हो । यसले नेपाललाई सिधा प्रभाव पारेको छैन । तर विश्वभरिका सेयर बजारहरूमा नकारात्मक प्रभाव पर्दा यसले नेपाली बजारलाई पनि केही भने प्रभाव परेको छ ।
प्रतिक्रिया