काठमाडौं- एमभी दुगड ग्रुपले मोटरसाइकल व्यापारलाई पुनः सुरु गर्ने भएको छ । निसान, रोयल इन्फिल्ड, भेस्पा/अप्रिलिया जस्ता प्रख्यात ब्रान्डसँग जोडिएको यस समूहले पछिल्लो समय भारतीय इलेक्ट्रिक टु–ह्विलर ब्रान्ड रिभोल्ट नेपाल ल्याउन लागेको हो ।
एमभी दुगड ग्रुपले आइतबार नक्सालस्थित शोरुममा एक कार्यक्रम आयोजना गरी रिभोल्ट ब्रान्डको मोटरसाइकल लन्च गर्ने तयारी गरेको छ ।
रोयल इन्फिल्ड र भेस्पारअप्रिलियाको डिलरशिप गुमाएपछि कम्पनीले इन्डोनेशियाबाट जेसिस्ट ब्रान्डको इलेक्ट्रिक स्कुटर भित्र्याएको थियो । यो ब्रान्डले अपेक्षित बजार लिन नसकेपछि दुगड नयाँ ब्रान्डको टु ह्विलरको खोजीमा थियो । सोही क्रममा कम्पनी रिभोल्ट ब्रान्डसँग जोडिन पुगेको हो ।
दुगड समुहले नेपाल ल्याउन लागेको रिभोल्ट भारतको अग्रणी इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड हो । भारतमा यसको आरभी१, आरभी१ प्लस, आरभी ब्लेज एक्स, आरभी ४०० विआरजेड र आरभी ४०० गरी कुल पाँच मोडलका इलेक्ट्रिक मोटरसाइकल उपलब्ध छन् । यी ५ वटै मोडल नेपाली बजारमा पनि लन्च हुने अनुमान गरिएको छ ।
यी मोटरसाइकलमा २.२ किलोवाट आवरदेखि ३.२४ किलोवाट आवरसम्मको ब्याट्री प्याक जडान गरिएको छ भने मोडलमा २.८ किलोवाटदेखी ५ किलोवाट क्षमतासम्मको मोटर राखिएको छ । सिंगल चार्जमा १५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको रिभोल्ट मोटरसाइकललाई फास्ट चार्जरको साहयतामा ८० मिनेटमै शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
कम्पनीले यी मोटरसाइकलको ब्याट्रीमा ५ वर्ष अर्थात ७५ हजार किलोमिटरको वारेन्टी र चार्जरमा २ वर्षको वारेन्टी दिएको छ ।
कम्पनीको आरभी४०० भारतमा पहिलो इलेक्ट्रिक बाइक हो । सो बाइक भारतमा २०१९ देखि उत्पादन सुरु गरिएको थियो । सो बाइकको बुकिङ सुरु हुने बित्तिकै केही दिनमा बन्द गर्नु परेको थियो । दोस्रो पटक बुकिङ खोलिएको २ घन्टा भित्र ५० करोड भारु बराबरको बाइक बिक्री गरिएको थियो ।
रिभोल्ट आरभी४०० मा कम्पनीले ५ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरेको छ । सो बाइकमा ३.२४ किलोवाट आवरको स्वेपेबल ब्याट्री प्याक उपलब्ध रहेको छ । यसमा तीन राइडिङ मोड ईको, नर्मल र स्पोर्ट रहेको छ । बाइकको टप स्पिड ८५ किलोमिटर प्रतिघन्टा रहेको छ ।
रिभोल्ट आरभी ४०० इलेक्ट्रिक बाइकमा निकै पावरफुल ब्याट्री जडान गरिएको छ । सो ब्याट्री फुल चार्जमा १५६ किलोमिटरको दुरी तय गर्ने क्षमता रहेको छ । सो ब्याट्री ४ देखि ५ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।
आरभी४०० को नयाँ भेरिएन्ट आरभी४०० बीआरजेडमा ३.२४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ भने यसले सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यसमा इको, नर्मल र स्पोर्ट गरी तीनवटा सवारी मोड छन् ।
प्रतिक्रिया