काठमाडौंका निषेधित क्षेत्रमा उच्च सुरक्षा सतर्कता

आइतबार, ०७ बैशाख २०८२, ११ : ०१

काठमाडौं  – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाण्डौमा गर्न लागेको आन्दोलनलाई मध्यनजर गरी सुरक्षा सतर्कता उच्च पारिएको छ । काठमाण्डौमा यसअघि तोकिएको निषेधित क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

गएको फागुन अन्तिम हप्तादेखि दुई महिनाका लागि संसद भवन वरपर, सिंहदबार क्षेत्र, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार र भद्रकाली क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो । निषेधाज्ञा लागू भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ ।

काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता एवम् एसपी अपिलराज बोहोराका अनुसार आज बिहानैदेखि सुरक्षा अवस्था कडा पारिएको छ । त्यस्तै ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा आवश्यक समन्वय गरिरहेको छ । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज गर्न लागेको प्रर्दशनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

 
 
आइतबार, ०७ बैशाख २०८२, ११ : ०१

प्रतिक्रिया